कमरेडहरूमाथि शुरु भयो कारबाही

कमरेडहरूमाथि शुरु भयो कारबाही

स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आउँदो निर्वाचनको योजना बनाउन तम्सिएको नेकपा (एमाले)ले ललितपुर जिल्लामा कार्वाहीको हौवा पिटेर सोझा कार्यकर्तालाई सुली चढाएको छ । एमालेले पार्टी विभाजनको कुनै असर नपरेको दावी गरेको क्षेत्र नं १ मा हार व्यहोरेपछि जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई नैतिक दवाव परेको छ ।

आफ्नै वडामा तेस्रो भएको र अघिल्लो स्थानीय तह निर्वाचनमा पाएको भन्दा पनि मत घटेपछि राजीनामाको दवाव बढ्ने बुझेर आचार्यले कार्वाहीको नाममा विवेकशील कार्यकर्तालाई निशाना सोझ्याएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण जनतामाझ आफूहरूको छवि केही धुमील भएकाले मत घटेको भन्ने तर्क राख्दै ठीकलाई ठीक, बेठीकलाई वेठीक भन्ने कार्यकर्ताहरू एमालेको निशानामा परेका छन् । जिल्ला कमिटी बैठकको म्याण्डेट भन्दै केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार र जिल्ला अध्यक्ष आचार्यले छानीछानी स्पष्टिकरण लिएका छन् भने केहीलाई जिम्मेवारीबाट हटाएका छन् ।

६ वटा स्थानीय तहमध्ये एउटा सदस्य पनि नजितेपछि महाँकाल गाउँपालिका इञ्चार्ज विमला घिमिरेलाई जिम्मेवारीबाट हटाएर सहइञ्चार्ज श्याम बजगाईलाई इञ्चार्ज बनाएको समाचार बाहिरिनासाथ घिमिरेले राजीनामा दिएकी छन् ।

महांकाल गाउँपालिकामा अघिल्लो निर्वाचनमा जितेका अध्यक्ष रामचन्द्र दाहालसमेत स्पष्टिकरणको चपेटामा परेका छन् । महाँकालको पार्टी जिम्मेवारीका धेरैले अन्तरघात गरेको भन्दै निर्वाचन लडेको टीमले गम्भिर छानवीनको माग गरेको छ ।

ललितपुर महानगरपालिकाभित्र निर्वाचित वडाध्यक्षहरूले भने उपमेयर आस्था शाक्य बज्राचार्यले आफूहरूसँग समन्वय नगरेको भन्दै केन्द्रीय सदस्य एवम् मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई भेटेरै असन्तुष्टि जनाएका छन् ।

उपमेयर शाक्यले मेयर चिरिबाबु महर्जन र बाहिरका मान्छेहरूसँग सल्लाह गर्ने तर पार्टीका जनप्रतिनिधिलाई सल्लाह नगर्ने भन्दै गुनासो गरेका हुन् ।

टिप्पणीहरू