भारतीय सेनाध्यक्ष भदौ २० गते आउने

भारतीय सेनाध्यक्ष भदौ २० गते आउने

नेपाल घोषित रुपमा हिन्द–प्रशान्त (इण्डो–प्यासिफिक) सैन्य सहकार्यमा संलग्न छैन । तर, प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाबाट फर्किएलगत्तै यसैसँग जोडिएका सेनाप्रमुखहरूको सम्मेलनमा अष्ट्रेलिया जाने तयारी शुरु भएको छ । प्रधानमन्त्री स्वयंले क्याबिनेटबाट भ्रमण स्वीकृतिको निम्ति प्रस्ताव पठाउन जंगी अड्डालाई मुख्यसचिवमार्फत निर्देशन दिइसक्नुभएको छ ।

यता, दुई संसदीय समितिले एसपिपीबारे पटक पटक सोधेको छ । तर, न परराष्ट्र, न रक्षा– कसैले रेस्पोन्स गरेनन् । तत्कालिन सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकासँग गरेको पत्राचारबारे विस्तृत विवरण मागिएको छ ।

तर जवाफ यस्तो अटेरी कि, सुन्दैमा झनक्क रिस उठ्दो ! ‘एसपिपीमा नेपाल सरकार सहभागी नहुने निर्णय भएकाले…’ संसदले त्यससम्बन्धी कागजात पठाऊ भन्ने तर जवाफचाहिँ पत्र लुकाएर दिन मिल्दैन बर्बाद हुन्छ भन्ने टाइपको दिने ।

अचम्म के छ भने, एकातिर घुमाउरो भाषामा त्यो पत्र दिन्नँ भन्ने, त्यसबेलाका प्रधानमन्त्री केपी ओलीले चाहिँ ‘सक्कल कागज भए हेरौँ’ भन्ने ! के छ यी दुईबीचको तालमेल ? अर्को गम्भीर कुरा छ– नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले नै एसपिपीमा सहभागी नहुने निर्णय झण्डै महिना दिन अगाडि गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले उक्त व्यहोरा खुलाइएको पत्र अहिलेसम्म पठाएको छैन ।

जबकि गृहमन्त्रीले अमेरिकालाई पत्राचार गरेको जानकारी संसदलाई दिइसकेका छन् । तर, पनि पत्र गएको छैन । कूटनीतिज्ञहरु भन्छन्, ‘यस्तो ढटुवा पाराले दुई देशको सम्बन्धमा पनि विश्वासको संकट आउन सक्छ ।’

अर्कातिर, उतिबेला पत्र लेख्ने सेनापति यतिबेला अमेरिकामै छन् । हालका सेनापति प्रभुरामसँग उसबेलाका सेनापतिको उतै भेट भएको छ । यसबीच, राजेन्द्र क्षेत्री मिडियाकर्मीहरुले ‘बोल्नुस् न’ भन्दा ‘बोल्दिनँ’ भन्दै अड्डी कसेर बसेका छन् ।

यसैबीच, भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाले भदौको २० देखि २३ सम्म नेपाल आउन परराष्ट्र मन्त्रालयमार्फत् निम्तो पठाएको छ । प्रचलनअनुसार, दुई देशका सेनापतिहरुले एक अर्को देशका राष्ट्रपतिबाट मानार्थ सेनापतिको सम्मान लिने/दिने गरिन्छ ।

त्यस्तै, अमेरिकाले नेपालसहित विभिन्न देशका सेनालाई इण्डो प्यासिफिक कमाण्ड स्थापनाको ३३औं वार्षिकोत्सवका अवसरमा मिलिटरी अपरेशन्स एण्ड ल इन्गेजमेन्ट विषयक तालिम दिन लागेको छ । त्यसमा नेपालको तर्फबाट कानुन हेर्ने सहायक रथी जीवनप्रसाद दाहाल सहभागी भएका छन् ।

टिप्पणीहरू