चुनावी अन्तर्घातका नाममा एमालेका दुई पालिका कमिटी भंग, चार नेता निलम्बित

चुनावी अन्तर्घातका नाममा एमालेका दुई पालिका कमिटी भंग, चार नेता निलम्बित

नेकपा एमाले पाँचथरले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने ४ नेतालाई निलम्बन गर्नुुका साथै २ वटा पालिका कमिटी भंग गरेको छ । हिलिहाङ र कुम्मायक गाउँपालिकाका स्थानीय कमिटी भंग हुनेमा परेका हुन् ।

जिल्ला अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा साउन १० र ११ गते बसेको सचिवालय बैठकले कमिटी भंग गरेको हो ।

त्यसअघिको जिल्ला बैठकले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई असहयोग गरेको भन्दै हिलिहाङ गाउँपालिकाका अध्यक्ष मदन गौतम र कुम्मायक गाउँपालिका अध्यक्ष मेघराज निरौलालाई जिम्मेवारीबाट निलम्वन गरेको थियो ।

पछिल्लो पटक ती दुबै पालिका कमिटी भंग गर्दै अधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा अन्तरघात,असहयोग र असमझदारीको बिश्लेषण गर्दै गौतम र निरौलासहित याङवरक गाउँपालिकाका निवर्तमान अध्यक्ष लेखनाथ घिमिरे र अर्का नेता देवी कोइरालालाई पनि हटाइसकिएको छ ।

निलम्बनमा परेका मध्ये हिलिहाङका पालिका अध्यक्ष मदन गौतमले निर्णय पुर्नविचार गरियोस् भन्दै जवाफ लेखेपनि उनको स्पष्टिकरणवारे छलफल नै नभएको बताइन्छ ।

हिलिहाङमा अन्तरघात नभएको भनेर कसैले नभनेकाले निलम्बन यथावत राख्दै पालिका कमिटी नै भंग गरिएको बताइन्छ ।

निलम्बित नेताहरु भने जिल्ला कमिटी अध्यक्ष र केही सचिवालय सदस्यले पूर्वाग्रही भएर आफूहरुलाई कार्वाही गरिएको बताउँछन् ।

अघिल्लो निर्वाचनमा शानदार विजय हासिल गरेको एमाले पाँचथरले यस पटक लज्जास्पद पराजय व्यहोरेपछि कार्यकर्तामाथि त्यसको आरोप लगाएर नेतृत्व पन्छने प्रयास गरेको सरोकारवालाहरु बताउँछन् ।

टिप्पणीहरू