पार्टी फेर्दै, तुरून्तै घर फिर्ता माग्दै
दिलहरू एकातिर तोडिएर अर्काेतिर जोडिए तर दुःखहरूचाहिँ साथै लागे । एकातिर गाई चिह्नको दुःख छँदैथियो त्यहीमाथि थपिएको छ कार्यालय भवनको पीडा ।
कमल थापा बेलायत भ्रमणमा निस्कनुअघि अस्ति मात्र उपाध्यक्षमा दिलविकास राजभण्डारी र सहमहामन्त्रीमा दमन बस्नेत, पूर्वमन्त्री दिलनाथ गिरीलाई मनोनीत गरेका थिए । त्यही दिन ७० जनालाई सो पार्टीमा भित्र्याइयो । दिलविकास राजेन्द्र लिङ्देनको राप्रपा त्यागेर कमल थापाको राप्रपा नेपालमा भित्रिएसँगै फेरि पार्टी कार्यालयको लफडा बल्झिएको छ ।
दिलविकासले स्वर्गीय पत्नीको स्मृतिमा १२ आना ३ पैसा जमिनमाथि धुम्बाराहीमा भवन बनाएका थिए । ०६९ सालमै निर्माण सम्पन्न गरेर पार्टीलाई बुझाए पनि लालपुर्जादेखि तिरो तिरेको कागजातसमेत उनीसँगै छ । कमल थापाहरूले चन्दा मागिरहने भएपछि उनले घर नै पार्टीलाई बुझाएका छन् । दुई कित्तामा बाँडिएको सो जग्गा छोरीको नाममा छ ।
दिलहरू कमल थापाबाट तार लागेन भनेर राजेन्द्र लिङ्देनको पार्टीमा पुग्दा सो पार्टी कार्यालय पनि उतै गयो । स्थानीय निर्वाचनमा पार्टी पत्तासाफ हुनु, अध्यक्ष राजेन्द्र लिङ्देनले रेखा थापादेखि ज्ञानेन्द्र शाहीहरूलाई च्यापेर हिँड्ने तर उनलाई अध्यक्ष जिताउनकै लागि अमेरिकादेखि नेपाल आएका दिलनाथ गिरीदेखि पुराना नेताहरू राजभण्डारी, बस्नेतहरूलाई बाइपास गरेर पार्टी चलाउन थलिएसँगै कमल थापालाई धोइ पखालेरै चलाउने योजनासाथ पुरानै घर फर्किएका हुन् ।
पार्टी परित्याग गरेलगत्तै राजभण्डारीले राजेन्द्र लिङ्देनका उपाध्यक्ष तथा कार्यालय प्रमुख हेमजंग गुरुङलाई फोन गरेर कार्यालय भवन खाली गरिदिन आग्रह गरेका छन् ।
उता, कुनै समय उग्रक्रान्तिकारी बनेका, केही समय कनकमणि दिक्षितको अभियानमा समेत होमिएका र घाम पार्टीमा पस्ने तयारी गरेका पूर्व बाल सेना लेनिन बिष्ट अन्ततः कमल थापाको पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । राप्रपा नेपाल स्रोतका अनुसार पार्टी अध्यक्ष कमल थापा बाहिरबाट फर्कनेबित्तिकै बिष्टसहितको एउटा समूहलाई प्रवेश गराउने तयारी भइरहेको छ । यो विषयमा जिज्ञाशा राख्दा ‘व्यक्तिगत मामिला’ भन्दै पन्छिए ।
टिप्पणीहरू