उता मेयरसहित सबै गए,यता महानगरको कामै ठप्प
पोखरामा आयोजित मेयर सम्मेलन सकिएको छ । अस्ति र हिजो आयोजित सम्मेलनमा सहभागी मेयरमध्ये कतिपय हिजै फर्केका छन् भने केही पोखरा घुमघाममै छन् ।
आगामी वर्ष यस्तै सम्मेलन भरतपुरमा हुने सहमति छ । सम्मेलनले विभिन्न निर्णय गरेको भनिए पनि सार्वजनिक गरिएको छैन ।
सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर,चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी थिए ।
मेयर सम्मेलन भनिए पनि उनीहरुको संख्या आधा दर्जन मात्रै थियो । तर सहभागीमध्ये उपमेयर र प्रशासकीय अधिकृत गरी अरु एक दर्जन उपस्थित थिए । कतिपय मेयरले त सहयोगी कर्मचारीको डफ्फा नै लगेका थिए ।
गत शुक्रबार अधिकांश महानगरपालिकामा मेयर सम्मेलनका कारण उपमेयर,प्रशासकीय अधिकृत र महत्वपूर्ण विभाग तथा इकाइका कर्मचारी अनुपस्थित रहे । सामान्यतयाः कुनै पनि निकायका प्रमुखहरुको सम्मेलनमा उपप्रमुखको पनि सरोबरी सहभागिता हुँदैन । तर मेयर सम्मेलन विगतदेखि नै पृथक देखिँदै आएको छ ।
टिप्पणीहरू