टिकेप्रथा अन्त्यको माग गर्दै एमाले युवा संघभित्र भाँडभैलो
एमाले सम्बद्ध युवा संघ नेपालभित्र रहेको विवाद छताछुल्ल भएको छ । महाधिवेशन नै नगरी नवौँ महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकमा विभिन्न पद भागबन्डा गरेपछि भाँडभैलो देखिएको हो ।
कोटेश्वरस्थित एउटा पार्टी प्यालेसमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष र महासचिवको उपस्थितिमा बसेको बैठकले पदाधिकारी हेरफेर गरेको हो । सो निर्णयप्रति असन्तुष्टि जनाउँदै महाधिवेशन नगरी कमिटी हेरफेर गरेको भन्दै निवर्तमान महासचिव रमेश आचार्यलगायत नेताहरूले विरोध गरेका छन् ।
आचार्यले सल्लाह नै नगरी आफूलाई महासचिवबाट हटाइएको भन्दै युवा संघको राजनीति छाडेको घोषणा गरेका छन् । आचार्यलाई हटाएर महासचिवमा ताप्लेजुङका क्षितिज थेबेलाई चयन गरिएको छ । थेबे एमाले उपाध्यक्ष सुभाष नेम्वाङ्ग निकट मानिन्छन् । बैठकले १० उपाध्यक्षसहित १८ जना पदाधिकारी चयन गरेको छ ।
युवा संघका इञ्चार्ज महेश बस्नेतले पहुँचको आधारमा एकलौटी ढंगबाट आयोजक कमिटी बनाएपछि असन्तुष्टि सिर्जना भएको आरोप इतर समूहले लगाएको छ । गत वर्ष पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट महाधिवेशन आयोजक कमिटी चयन गरेकै बखत विवाद बढेको हो ।
त्यतिबेला उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरेलगायत तीन दर्जन नेताहरूले पोखरामा भएको बैठक बहिस्कार गरेर समानान्तर कमिटी बनाउने भन्दै पार्टी अध्यक्ष ओली, महासचिव पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारीलाई लिखित असन्तुष्टि पत्र समेत बुझेका थिए ।
युवा संघभित्र महेश बस्नेतले इञ्चार्जको जिम्मेवारी सम्हालेदेखि नै भद्रगोल सिर्जना भएको निवर्तमान महासचिव आचार्य निकट समूहले बताएको छ । विगत नौ वर्षदेखि महाधिवेशन नभइरहेको अवस्थामा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेला टीका लगाएर नेतृत्व दिएको उनीहरूको आरोप छ ।
बितेको नौ वर्षमा आठ जनालाई टीका लगाएर अध्यक्ष बनाएको भन्दै असन्तुष्ट समूहले महाधिवेशन गर्न माग गरेका छन् । आठौँ महाधिवेशन २०६९ फागुन १८ गते सम्पन्न गर्दा दोस्रो पटक अध्यक्ष बनेका बस्नेतले नीरु पाललाई अध्यक्ष बनाएका थिए भने आफू इञ्चार्जको जिम्मा लिएका थिए । निरु पालपछि पालैपालो टीका लगाएर राजीव पहरी, रमेश पौडेल अध्यक्ष बनेका हुन् ।
एमाले–माओवादी एकतापछि नेकपा बन्यो, नेकपा बनेपछि तत्कालीन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई युवा संघको अध्यक्ष चयन गरिएको थियो । यद्यपि एमाले पक्षधरले दीपशिखालाई अस्वीकार गरे पनि त्यो एकताको लागि बनावटी भागबण्डा रहेको एमाले निकट स्रोत बताउँछ ।
त्यस्तै नेकपा विभाजनपछि पुनः रमेश पौडेल अध्यक्षमा फर्किए भने उनको कार्यकाल सकिएपछि बचन सिंहलाई अध्यक्ष बनाइयो । सिंहलाई अध्यक्षबाट राजीनामा दिन लगाएर अहिले किरण पौडेललाई अध्यक्ष बनाइएको छ । आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा नवौँ महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग आचार्य समूहको छ ।
टिप्पणीहरू