वामदेवद्वारा जवर्जस्तीको आरोप अस्वीकार,उल्टै ठगिएको गुनासो
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीमाथि ठगीको आरोप लागेको छ । भैरहवाका जग्गा व्यवसायी राजु कार्कीले सर्वसाधारणको काम गरिदिने बहानामा क्षेत्रीले रकम लिएर दम्पच पार्ने गरेको गम्भीर आरोप लगाएका हुन् ।
माओवादी केन्द्रको पोलिटब्युरो सदस्यसमेत रहेका क्षेत्रीले धम्क्याएर ९ लाख रुपैयाँ लगेको र अझै रकम मागिरहेको दावीसहित कार्कीले हिजो सामाजिक सञ्जाल फेसबुकमा हारगुहार गरेपछि यो विषय सार्वजनिक भएको हो । उनले लेखेका छन्, ‘माओवादी नेता बामदेव क्षेत्रीले सर्वसाधारण जनताकाे काम गरिदिन्छु भनी पैसा मागेकाे र जवर्जस्ती धाकधम्की देखाई नाै लाख रुपैयाँ लगिसकेकाे र बाँकी थप रकमका लागि ताकेता गरेकाे,नदिएमा बर्वाद गर्छु भनेकाेले यस्ता नेता भनाउँदालाई के भन्ने ?’
पूर्वसांसद समेत रहेका क्षेत्रीले भने उल्टै कार्कीले आफ्नो १५ लाख खाइदिएको बताएका छन् । दुई महिनाका लागि १५ लाख सापटी दिएकोमा तीन वर्षसम्म फिर्ता नगरेका कार्कीले आफूले ताकेता गर्न थालेपछि अहिले सामाजिक सञ्जालमा जथाभावी लेखेर रकम फिर्ता नगर्न बहानाबाजी गरिरहेको उनले दावी गरे ।
जनआस्थासँगको संवादमा यसबारे प्रष्ट पार्दै उनले भने, ‘मसँग उनले दिएको दुई वटा बाउन्स चेक पनि छ, आवश्यक परे सार्वजनिक गरौँला ।’ नेता क्षेत्रीले साथीहरुको विश्वासमा चिनजानै नभएका कार्कीलाई आफूले पैसा दिएको पनि बताए ।
‘अप्ठेरो पर्यो भनेपछि योगेश घिमिरेलाई साक्षी राखेर केही समयका लागि १५ लाख दिएको हो । तर,तीन वर्ष भैसक्दा पनि फिर्ता माग्दा दिंदैन,वीचमा ९ लाखको दुई वटा चेक दिएको थियो तर पटक-पटक बैंकमा जाँदा पनि उसको खातामा पैसा नभएकाले साटिएन । अत्ति भएपछि बाउन्समा हालेको हो’, उनले भने ।
पैसा फिर्ता गरेर इमान्दारिता देखाउनुपर्नेमा उल्टै आफ्नाविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेकोमा क्षेत्रीले अचम्म मानेका छन् ।
टिप्पणीहरू