प्रभु साहका कारण रौतहट एमालेमा भाँडभैलो,व्यापक कार्वाही
नेकपा एमाले रौतहटमा यतिबेला गत स्थानीय निर्वाचन ताकाको विवादले उग्ररुप लिएको छ । स्थानीय चुनावताका चन्द्रपुर नगरपालिकामा एमाले उम्मेदवारलाई हराउन त्यतिबेला पार्टी छाडेकाहरुलाई अहिले एमाले नेता प्रभु साह समूहले पार्टी कार्यक्रममा अतिथि बनाउन थालेपछि अर्काथरि रुष्ट भएका छन् ।
पाँच वर्षअघि स्थानीय निर्वाचनको बेला नेकपा माओवादीबाट चन्द्रपुरको मेयरमा टिकट नपाएपछि लगत्तैको प्रदेश चुनावमा स्वतन्त्र प्रदेशसभा सदस्य चुनाव लडेर माओवादी उम्मेदवार देवेन्द्र पटेललाई हराएकोमा मख्ख परेका राजु धामी विभाजनपछि एमाले छिरेका थिए । उनै धामीले गएको स्थानीय निर्वाचनमा चन्द्रपुर नगरको मेयरमा दावी गरेका हुन् ।
तर शिव आचार्यले टिकट पाएपछि तत्कालीन एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरीसँगै उनले मनोनयन दर्ताकै दिन चन्द्रनिगाहपुरको हिमालयन होटलमा पत्रकार सम्मेलन गरेर एमाले पार्टी छाडेको घोषणा गरेका थिए । तिनै धामीलाई अहिले नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह र मधेश प्रदेश उपसचिव आरती भण्डारीले भित्र्याउने तयारी गरेपछि एमाले चन्द्रपुर नगर कमिटीले त्यसको बिरोध गर्दै आएको छ ।
स्थानीय निर्वाचनलगत्तै एमाले चन्द्रपुर नगर कमिटीले एमाले मधेश प्रदेश कमिटी सदस्य तुलसीराज गिरी,उनकी श्रीमती शारदा हुमागाईं, राजु धामी,कृष्णप्रसाद तिमल्सिना र चार जना जिल्ला कमिटी सदस्यलाई कारवाहीको सिफारिस गरेको थियो ।
नगर कमिटीले कारवाही गरेका राजु धामीलगायतलाई भण्डारी र साहले काखी च्यापेपछि पूर्व एमालेका अन्य नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा त्यसको चर्को बिरोध गरेका हुन् ।
गत स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवार शिव आचार्यलाई हराउन धामी नेपाली काँग्रेसबाट टिकट नपाएका पूर्व मेयर रामचन्द्र चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाएर उनकै प्रचारमा हिँडेका थिए । आदिवासी जनजाति उम्मेदवार चौधरीलाई जिताउन लागिपरेका धामीको वडामा स्वतन्त्र उम्मेदवार बनेका चौधरीले करिब एक सय भोट पाए ।
त्यसपछि चुपचाप रहेका उनै धामी सरकारले संघ र प्रदेशको चुनाव घोषणा गरेपछि आफू एमालेमै रहेको भन्दै पार्टी कार्यक्रममा सहभागी भएकाले रौतहट एमालेमा व्यापक असन्तुष्टि पैदा भएको एमालेका एक जना जिल्ला कमिटी सदस्यले बताए । चुनावको बेला पार्टी उम्मेदवार हराउन महत्वपूर्ण भूमिका खेलेका धामीलाई एमालेका प्रभु साह, केन्द्रीय सदस्य कुन्दन कुशवाह,आरती भण्डारीले चोख्याउन थालेको भन्दै एमालेका अन्य नेताहरुले बिरोध जनाउँदै आएका छन् ।
माओवादी छाडेर एमाले प्रवेश गरेका प्रभुुुुुु साह अहिले एमाले रौतहटलाई साह कम्पनी बनाउन लागि परेको भन्दै एमाले नेताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका छन् । उक्त कमिटीमा पछिल्लो समय सोही मनमुटाव बढदै जान थालेको छ । जिल्लाको देवाही गोनाहीमा हिजो भएको किसान संघको जिल्ला अधिवेशनमा उनै धामीलाई मञ्चमा आसन ग्रहण गराएपछि अधिकांश एमाले नेताहरुले कार्यक्रमस्थल छाडेका थिए ।एमाले उम्मेदवार शिव आचार्यलाई हराउन धामी नेपाली काँग्रेसबाट टिकट नपाएका पूर्व मेयर रामचन्द्र चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाएर उनकै प्रचारमा हिँडेका थिए । आदिवासी जनजाति उम्मेदवार चौधरीलाई जिताउन लागिपरेका धामीको वडामा स्वतन्त्र उम्मेदवार बनेका चौधरीले करिब एक सय भोट पाए ।
टिप्पणीहरू