एमाले अध्यक्ष हेलिकप्टरमा रौतहट पुग्नुभयाे
एमाले अध्यक्ष केपी शर्मा ओली केही बेरअघि रौतहटको सदरमुकाम गौर पुग्नुभएको छ । उहाँ सिम्रिक एअरको हेलिकप्टरमा त्यहाँ जानुभएको हो ।
पाँच जनाको टोलीसहित अध्यक्ष ओली चढेको हेलिकप्टर पौने २ बजे काठमाडौंबाट त्यता उडेको थियो । उहाँले गौरमा आयोजित आमसभालाई सम्बोधन गर्न र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरमा ओलीले अन्य पार्टी छाडेकालाई एमालेमा प्रवेश गराउने मुख्य कार्यक्रम बनाइएको छ । सोही कार्यक्रमलाई लिएर रौतहटमा एमालेका नेता तथा कार्यकर्ताबीच विभाजन देखिएको छ ।
नेकपा माओवादी केन्द्र छाडेर एमाले छिरेका नेता प्रभु साहको टिमले ‘गौर चलु गौर भरु’ को नारा व्यापक बनाएका छन् । उक्त कार्यमा प्रभु साहलगायत एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाह, जिल्ला इञ्चार्ज उपेन्द्र साह, जिल्ला अध्यक्ष त्रिभुवन साहले केपी ओलीको फोटोसहित प्रचार गरेका छन् ।
एमालेकै अर्काथरि नेता तथा कार्यकर्तामध्ये केन्द्रीय सदस्य उद्धव रेग्मी, संघीय सांसद रेखा झा, संविधानसभा सदस्य बबन सिंहले ओलीको फोटोलाई सामाजिक सञ्जाल रंगाउन प्रयोग गरेका हुन् । उनीहरुले वाह्य प्रचार गरेका छैनन् ।
टिप्पणीहरू