सम्बन्ध विच्छेद भुसको आगोझैँ फैलँदै

सम्बन्ध विच्छेद भुसको आगोझैँ फैलँदै

रूकुम पश्चिममा पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेदका मुद्दाहरू बढी मात्रामा आउने गरेका छन् । रूकुम जिल्ला अदालतमा दर्ता भएका र फैसला भएका मुद्दाको संख्यालाई हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बढी मात्रामा देखिएका छन् ।

जिल्ला अदालत रूकुम पश्चिमकाअनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा अदालतको लगतमा देखिएकामध्ये ४३ दशमलब ८८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । अदालतका निमित्त श्रेस्तेदार विष्णुप्रसाद पौडलले गत वर्ष अदालतको लगतमा छ सय ६० वटा मुद्दा भएकामध्ये २८७ वटा सम्बन्ध विच्छेदका रहेको जानकारी दिनुभयो । कुल मुद्दामध्ये ४६६ वटा देवानी, १८८ वटा फौजदारी र छ वटा मुद्दा पुनरावेदनतर्फका छन् । देवानीअन्तर्गत २८७ वटा मुद्दा सम्बन्ध विच्छेदका हुन् ।

रूकुम जिल्ला अदालतमा रहेका कुल मुद्दामध्ये ३०३ वटा मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका थिए । अघिल्लो वर्ष लगत सरिआएका मुद्दामध्ये १९१ वटा देवानी, ११२ वटा फौजदारी र पाँच वटा पुनरावेदनतर्फका मुद्दा छन् । यो वर्ष भने अदालतमा २७५ देवानी, ८१ वटा फौजदारी र एउटा पुनरावेदन मुद्दा दर्ता भएको निमित्त श्रेस्तेदार पौडेलले उल्लेख गर्नुभयो ।

६५ प्रतिशत मुद्दा फछर्यौट

रूकुम जिल्ला अदालतले आर्थिक वर्ष ०७८/०७९ मा दर्ता भएका मुद्दामध्ये ६५ दशमलब ३० प्रतिशत मुद्दा फछ्र्यौट भएको जनाएको छ । अदालतका निमित श्रेस्तेदार पौडेलले गत वर्ष जम्मा भएका ६६० मध्ये ४३१ वटा मुद्दा रूकुम अदालतबाट फछर्यौट भएको जानकारी दिनुभयो । ३३१ वटा देवानी, ९६ वटा फौजदारी र चार वटा पुनरावेदन अन्तर्गतका मुद्दा फैसला भएका हुन् । २२९ वटा मुद्दा भने फैसला हुन बाँकी छन् । बाँकी रहेका मुद्दामध्ये १३५ वटा देवानी, ९२ वटा फौजदारी र दुई वटा पुनरावेदन अन्तर्गतका मुद्दा हुन् ।

फैसला भएकामध्ये ५४ दशमलब ५२ प्रतिशत मुद्दा भने सम्बन्ध विच्छेदका छन् । दर्ता अभिलेखमा रहेका २८७ मध्ये २३५ वटा सम्बन्धविच्छेदका मुद्दा फैसला भएका हुन् । लगतमा रहेकामध्ये ५२ वटा भने फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । निमित्त श्रेस्तेदार पौडेलकाअनुसार गत आर्थिक वर्षमा पारिवारिक विवादका मात्र ३८५ सम्पत्तिसँग जोडिएका ६६ मुद्दा आएको हो । जसमध्ये २९६ वटा पारिवारिक विवाद र २७ वटा मात्र सम्पत्तिसँग जोडिएका मुद्दा फैसला भएका छन् । नियमित मिसिलको काम भइरहे पनि कोरोना संक्रमण र चुनावको समयको कारण सबै खालका मुद्दा फैसलामा केही ढिलाइ भएको अदालतले जनाएको छ ।

बाल विवाह प्रमुख समस्या

अदालतमा पारिवारिक सम्बन्ध विवादका मुद्दाहरू बढी मात्रामा पुग्नुमा बालविवाह मुख्य समस्या रहेको बताइएको छ । सानै उमेरमा विवाह गर्दाका व्यक्तिगत चाहना र पारिवारिक अवस्था फरक भइदिने भएकोले बेमेल शुरू हुने र अदालतसम्म पुग्ने गरेको अधिवक्ता रचना मल्लको बुझाइ छ । उहाँका अनुसार सानै उमेरमा विवाह गरेर सन्तान जन्माउने, पारिवारिक जिम्मेवारी र दायित्व बढ्ने तर आम्दानीको श्रोत नहुँदा कलह शुरू हुने गरेको छ । चेतनाको अभाव र बेरोजगारी समस्याले पनि पारिवारिक कलह निम्त्याउने गरेको उहाँको भनाइ छ ।

महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष ब्युझना पुन देवकोटा पनि सम्बन्ध विच्छेदका घटनाहरू बढ्नुमा बाल विवाह प्रमुख कारण रहेको उल्लेख गर्नुहुन्छ । उहाँले बाल विवाहपछि वैदेशिक रोजगारी, पितृसतात्मक सोच र घरेलु हिंसाको प्रभावका कारण सम्बन्ध विच्छेदको अवस्था बढी मात्रामा आउने गरेको बताउनुभयो । सरकारले बाल विवाह सम्बन्धमा बनाएका कानूनहरू अक्षरशः कार्यान्वयन गर्दै, स्थानीय सरकार समेतले सचेतनाका कार्यक्रम, नैतिक शिक्षाका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।

टिप्पणीहरू