बालाजुमा लागेको आगो नियन्त्रणमा आयो

बालाजुमा लागेको आगो नियन्त्रणमा आयो

बालाजु बाइपास नजिकै बिहान पौने १२ बजे लागेको आगो उपत्यका भरिका दमकल र फौजी कर्मचारीको अथक प्रयासबाट डेढ बजे नियन्त्रणमा आएको छ । स्थानीय दयाराम श्रेष्ठको जग्गामा फलामको ट्रस्ट बनाएर सञ्चालन गरिएको जुत्ता,चप्पल कारखानामा आगलागी भएको थियो ।

श्रीराम पाण्डेको वर्ल्ड कम्पनीले बनाउने स्पोर्ट्स जुत्ता,चप्पल र सुरज प्याकुरेलले सञ्चालन गर्दै आएको रेगजिन,इभा कारखानामा विद्युत सर्ट भएर लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो ।काठमाण्डौ महानगरपालिकाको जुध्द वारुण यन्त्रका दुई वटा,ललितपुर महानगरपालिकाको एउटा,नेपाली सेनाको एउटा,मध्यपुर थिमीको एउटा गरी पाँच वटा दमकल र १५ वटा पानी ट्याङ्करले आगो निभाएका हुन् । त्यसैगरी नेपाली सेनाको १ नम्बर बाहिनी अड्डा नेपालटारबाट सेनानी सुजन थापाको कमाण्डमा ४१ जनाको र कालिध्वज गण नागार्जुनबाट सहसेनानी रविनकुमार बुढाथोकीको कमाण्डमा ३१ जनाको टोली पनि आगो नियन्त्रणमा सहभागी भएको थियो ।सशस्त्र प्रहरी बलको १८ नम्बर गण कीर्तिपुरबाट एसपी ज्ञानप्रसाद भुर्तेलको कमाण्डमा ३१ जना, नेपाल प्रहरी र स्थानीय पनि आगलागी नियन्त्रणमा खटेका थिए । उक्त घटनामा मानवीय क्षति भएको छैन । दुई वटा जुत्ता कम्पनीमध्ये श्रीरामको २ करोड र सुरजको २०-२५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगोले छिमेकी परशुराम भेटवालको घरलाई समेत छोएको थियो ।

टिप्पणीहरू