जनआस्था समाचारको प्रभाव : नागरिकतामा नाम सच्याउन वडाध्यक्षको निवेदन

जनआस्था समाचारको प्रभाव : नागरिकतामा नाम सच्याउन वडाध्यक्षको निवेदन

नागरिकता बनाउँदा अपमानजनक नाम राखिएका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष युसाई प्रजा (चेपाङ) ले नाम सच्याइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

अस्ति बुधवार जनआस्था साप्ताहिकमा अपमानित नाम राखेर चेपाङ समुदायका मानिसहरुलाई बिगतमा नागरिकता वितरण गरिएको पाइएकोबारे समाचार प्रकाशन भएपछि वडाध्यक्ष युसाईले आफ्नै नाम सच्याइदिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई अनुरोध गरेका हुन् । उनीसहित बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङसमेत उपस्थित भई चेपाङ समुदायका नाममा अपमान भएकोमा सिडिओको ध्यानाकर्षणसमेत गराइएको छ ।

वडाध्यक्ष युसाईको गाउँमा चिन्ने र सामाजिक,राजनीतिक रुपमा प्रचलित नाम हाबिल हो । तर, नागरिकतामा भने युसाई नै उल्लेख छ । चेपाङ भाषामा युसाईको अर्थ मुसासँग सम्बन्धित रहेको बताइन्छ ।

मकवानपुरका चेपाङ समुदायमा कुई (कुकुर) चेपाङ, कामी चेपाङ, सार्की चेपाङ, चाकमाया चेपाङ, पिलो चेपाङ जस्ता नामहरु राखी नागरिकता वितरण भएको समाचार जनआस्थाले प्रकाशन गरेको थियो । दैलेखमा ‘कुकुर कामी’ र ‘कुकुरनी कामी’को नाउँमा नागरिकता दिलाएको घटनाले राष्ट्रिय बहस सुरु भएपछि मकवानपुरमा पनि चेपाङ समुदायका अपमानित नामहरुबारे छलफल भएको राज्यमन्त्री सन्तबहादुरले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले गृह मन्त्रालयले अपमानित हुने गरी राखिएका नामहरु अबदेखि नागरिकता दिँदा उल्लेख नगर्ने र यसअघि वितरण गरिएका त्यस्ता नागरिकतालाई सच्याउनका लागि परिपत्र गरिसकेकाले सोही अनुसार कार्य सुरु हुने बताएका छन् ।

‘नागरिकताको प्रतिलिपि लिने गरी वडाको सिफारिस लिएर नाममा अपमान भएकाले सच्याउनुपर्ने कारणसहितको मुचुल्का कागज बनाएर जिल्ला प्रशासन कार्यालय आउनुहोला’, उनले भने ।

पुस्तौँदेखि नागरिकता नभएका मकवानपुरका चेपाङ बस्तीहरुमा डेढ दशकअघि नेपाल चेपाङ संघको पहलकदमीमा नागरिकता शिविरसमेत चलाइएको थियो । त्यसबेला पनि केही अपमान र आपत्तिजनक नामहरुमा नागरिकता जारी भएको पाइएकाले सच्याउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने संविधानसभा सदस्य एवम् नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले बताए ।

ग्रामीण क्षेत्रमा चेपाङ समुदायमा मात्र नभई अन्य जनजाति समुदायका मानिसहरुले पाएका नागरिकतामा पनि होच्याउने शब्दहरुलाई नामको रुपमा प्रयोग गरी नागरिकता वितरण भएको पाइएको छ ।

टिप्पणीहरू