अख्तियारले खोजे छर्लंग आइहाल्छ

अख्तियारले खोजे छर्लंग आइहाल्छ

‘यति अग्लो, यति राम्रो घर नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक विमान कम्पनीको…’ भन्दै कुनै बेला काठमाडौं बाहिरबाट आउनेहरूका लागि रमिता बन्थ्यो । त्यही घर व्यापारीलाई जिम्मा लगाएर वायुसेवा निगमको उठिबास लगाउने प्रसंग चर्किंदा सिंहदरबारदेखि न्युरोडसम्मै लफडा छ ।

अघिल्ला पर्यटन मन्त्री प्रेम आलेदेखिकै जोड हो, न्युरोड छिर्ने मुखैमा रहेको नेवानिको उक्त भवन व्यापारीको जिम्मा लगाउने र त्यसलाई भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने । यो कुरा नमान्दा कार्यकारी अध्यक्ष युवराज अधिकारी दोस्रोपटक हटाइएका छन् । त्यसमाथि उनको खाएर उनीविरुद्धै लागिदिनेहरूका कारण अर्को तनावमा छन् । त्यसो त युवराज आफैँ पनि विवादमुक्त छैनन् । उनी ३४ वर्ष त्यहीँ जागिर खाएर ५८ वर्षे उमेरहदका कारण दुई वर्षपहिले रिटायर्ड भएका थिए । बेलाबखत महिलाकाण्डमा मुछिइरहन्छन् ।

मन्त्रीले निगमको भवन व्यापारीलाई दिन र भैरहवा एयरपोर्टको ग्राउण्ड ह्याण्डलिङ हामी गर्न सक्दैनौँ, निजी कम्पनीलाई दिए हुन्छ भन्ने व्यहोराको पत्र लेख्न निर्देशन दिँदा उनले जवाफ दिएका थिए, ‘म यो अफिसमा ३४ वर्ष जागिर खाएको मान्छे हुँ । कुनै हालतमा संस्था डुबाउने काम गर्दिनँ ।’ आफू कार्यकारी अध्यक्ष भएपछि निगमले ७ अर्ब कमाई गरेको, सञ्चयकोषलाई डेढ अर्ब तिरेको भन्दै अधिकारी आफू काममा सफल भएको, तर मन्त्रीहरूको उद्देश्य पूरा गर्न नसक्दा पटक–पटक हटाइनुपरेको बताउने गर्छन् । उनले वायुसेवाअन्तर्गत करारमा मन्त्रीका ५० जना मान्छे राखिदिए ।

तर, एक जना पत्रकारले एयरपोर्टमा आफ्ना दुईवटा बिजुली बस राखिदिन र केही बस किनिदिन गरेको आग्रह पु¥याउन नसक्दा प्रत्येक हप्ता प्रताडित हुनुपरेको छ । पत्रकारले विमानस्थलमा यात्रु ओसारपसारका लागि बिजुली बस राखिदिए आफूलाई एक करोड रुपैयाँ कमिशन आउने बताएका थिए । त्यही कुरा तत्कालीन महाप्रवन्धक डिमप्रकाश पौडेलले नमान्दा उनीविरुद्ध समाचार लेखेको भन्दै युवराजले पनि नमाने त्यसरी नै ‘ठोक्ने’ भन्दै धम्क्याइएको अडियो रेकर्ड अहिले नेवानिभित्र छ्याप्छ्याप्ती छ ।

निगममाथि विभिन्न शक्तिकेन्द्रको दोहन कस्तो भने, मन्त्रीले नेवानिको जहाजलाई डोटी, बझाङमा चार्टर्ड गरिदिन भने । विभागीय मन्त्रीले भनेपछि मान्नै पथ्र्यो । त्यो उडानको समय डेढ घण्टाको हो । त्यसको आम्दानी डेढ–दुई लाख रुपैयाँ हुनुपर्ने हो । तर, मन्त्रीले ८० हजार पनि तिरेनन् । त्यस्तो चार्टर उडान पोखरा–जोमसोम सेक्टरमा गर्दा दुईतर्फ ५४ मीनेट लाग्छ । एक लाख ४५ हजार आम्दानी हुन्छ । युवराजले त्यस्तो आम्दानी गराएका छन् । हालै अष्ट्रेलियाका लागि राजदूत नियुक्त भएका कैलाशराज पोखरेल दम्पती सित्तैमा रारा घुम्न गए । त्यसो गर्दा पैसा त तिरिएन नै, उल्टै निगमको भोजपुर–लुक्ला सेक्टरका ७ वटा उडान रद्द हुन पुग्यो । पछि जनआस्थामा यसबारे समाचार छापिएपछि लाज–गाल टार्न ७२ हजार तिरियो । भनिन्छ, यो समाचार दिएको भन्दै नेताहरू युवराजसँग रिसाए ।

युवराज अध्यक्ष भएपछिको अर्को प्रगति हो, नेवानिको कोषमा आठ महिनाअघि ६० करोड थियो, अहिले आम्दानी बढेर सात अर्ब पुगेको छ । पहिला एयरबस थ्री ट्वेन्टीले सात घण्टा र थ्री थर्टीले चार घण्टा उडान भर्थे । अहिले थ्री ट्वेन्टी १६ र थ्री थर्टी ११ घण्टा उड्छन् । यसरी निगमको अकुपेन्सी दर पहिला ६० प्रतिशत थियो, अहिले ९० प्रतिशत पुगेको बताइन्छ । दुबईको टिकट एक महिनाअघि नै हाहाकार हुन थालेको छ । नयाँ सेक्टर खुलेका छन् । पहिला मदन खरेललाई लखेट्ने र डिमप्रकाशलाई महिनौँ अफिस छिर्न नदिने यिनै कर्मचारीले उनैलाई अदालतबाट अन्तरिम आदेश लिएर आउनासाथ फूलमालाले स्वागत गरेका छन् ।

निगमको भवनमात्रै व्यापारीलाई दिन भनिएको थिएन, मुख्य आम्दानीको स्रोतका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ समेत निजी कम्पनीलाई बुझाउन लागिएको थियो । त्यसबाट वर्षको पाँच अर्ब आम्दानी हुन्छ । नेवानि डुबाउने धन्दामा सचिव महेश्वर न्यौपाने मात्र नभई सहसचिव होम लुइँटेल र नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने पनि संलग्न रहेको र हालै पर्यटन मन्त्रालयबाट घुस रकमसहित समातिएका उपसचिव प्रमोद नेपालसँग यिनको साँठगाँठ देखिएको अख्तियारस्रोत बताउँछ । बाँकी तथ्य त अख्तियारले छिरेर हेर्दा छर्लंग भइहाल्छ ।

टिप्पणीहरू