पाँचथरमा ३५ वर्षपछि हाट शुरु, स्थानीय किसान दंग

पाँचथरमा ३५ वर्षपछि हाट शुरु, स्थानीय किसान दंग

पाँचथर जिल्लाको सबैभन्दा पुरानो बजार जोरसालमा ३४ वर्षपछि औँशी पूर्णिमा हाट पुनः सुरु भएको छ । उक्त बजारमा लाग्दै आएको हाट २०४५ सालदेखि बन्द भएको बताइन्छ ।

घरेलु र कृषि उपजसहित रैथाने उत्पादनको किनबेच हुने उक्त हाट स्थानीय निकाय र व्यवसायीहरूको अगुवाइमा खुलाउने प्रयास भएको हो । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको जोरसाल बजारमा हिजो जनैपूर्णिमादेखि हाट पुनः लाग्न थालेको छ ।

हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले शुभारम्भ गरेका हुन् । सदरमुकाम फिदिमबाट दुई किलोमिटरको दूरीमा रहेको उक्त बजारको पुनर्जीवन, आसपासका कृषकहरूको कृषि उपज सहज तवरले बिक्री वितरण तथा परम्पराको संरक्षणको निम्ति हाट पुनः सञ्चालनमा ल्याइएको बताइएको छ ।

देउराली युवा क्लब र जोरसाल व्यवस्थापन समितिको विशेष पहलमा हाट सञ्चालनमा ल्याइएको हो । हाट पुनः सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीको प्रयासपछि हाट सञ्चालनमा ल्याउन सकिएको स्थानीय बताउँछन् ।प्रत्येक औंसी र पूर्णिमाका दिन लाग्ने हाट विशेषतः स्थानीय कृषिउपज बिक्रीका लागि उपयुक्त स्थान रहेको बताइन्छ । हाटमा आसपासका कृषकले सागसब्जी, दाल, फलफूललगायत कृषिउपज बिक्रीमा राखेका थिए । फिदिमका केही व्यवसायीले लत्ताकपडा, जुत्ताचप्पललगायत सामग्री बिक्रीका लागि राखेका थिए ।

सांस्कृतिक झाँकीसहित आयोजित उद्घाटन कार्यक्रममा लाखेनाचसहित विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो । उक्त हाटले फिदिम नगरपालिकाको २, ४, ५ र ९ नम्बर वडा तथा हिलिहाङ र कुम्मायक गाउँपालिकाका केही वडासहित तेह्रथुमको आठराईका कृषकहरूलाई पनि कृषि उपज बिक्रीमा सहयोग पुग्ने वडाध्यक्ष लावतीले बताए ।

सो अवसरमा स्थानीय कृषि उपजसँगै डोको नाम्लो, डालो, लाहा, फलफूल र कन्दमूल बिक्रीका लागि राखिएका थिए । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले हाटमा बिक्रीका लागि राखिने कृषि र घरेलु उपजमा कुनै पनि किसिमको कर नलगाइने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू