चरेश ओसारे ? चिन्तै छैन प्रहरीलाई

चरेश ओसारे ? चिन्तै छैन प्रहरीलाई

पश्चिम कपिलवस्तु अहिले लागुऔषध कारोबारीको ट्रान्जिट बन्दै गएको छ । जिल्लाको शिवराज, विजयनगर र कृष्णनगर नगरपालिका यतिखेर लागुऔषध ओसारपसार गर्ने रुटको रुपमा प्रयोग हुन थालेको छ । मुख्य गरी नेपाली चरेश भारत निर्यात भइरहेको श्रोतको भनाई छ । सल्यान, रोल्पा,रुकुम र प्युठानबाट उत्पादित चरेशहरु नेपाली सुरक्षाकर्मी छल्दै भारत पठाइँदैछ ।

श्रोतका अनुसार व्यापारीहरुले भरिया प्रयोग गरी चरेश चन्द्रौटा, शिवपुर,बालापुर, शिवगढी क्षेत्रमा राख्ने गर्दछन् । त्यसपछि समय अनुकूल हेरेर उनीहरुलाई विजयनगरको गणेशपुर–कृष्णनगर रुट हुँदै कृष्णनगर लिंकगेट तथा सीमासंग जोडिएका साना नाकाहरुबाट निकासी हुने गर्दछन् । विशेष गरी पश्चिमी र्सिसिहवा,बेर्दमी, ठकुरापुर,लक्ष्मीनगरबाट भारतमा चरेश निर्यात हुने श्रोतको भनाई छ । तर पश्चिमी क्षेत्रका प्रहरी लागुऔषध कारोबारी भन्दा चिनी,कपडा, राँगा, खसिबोका,काठ तस्कर खोज्दै र लाइन मिलाउँदैमा व्यस्त देखिन्छन् ।

प्रहरीको आफ्नै तथ्यांकले पनि विगतका बर्षहरु भन्दा अहिले चरेश पक्राउ नपरेको पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आ.ब.७६/७७ मा पश्चिमी क्षेत्रबाट मात्रै भारत लैजाँदै गरेको ३१ केजी चरेश पक्राउ परेको थियो । यसै गरी ७७/७८ मा पनि प्रहरीले ४१ किलो चरेश पक्राउ गर्यो । तर आ.ब. ०७८/७९ मा जम्मा ४० ग्राम चरेश प्रहरीले पक्रेको छ । त्यति मात्र होइन,ब्राउन सुगर तथा अन्य लागुऔषध नेपाल भित्रने मुख्य नाका रहेको कृष्णनगरबाट विगत १ बर्षमा पछिल्ला बर्षका तुलनामा ज्यादै न्यून कारवाही भएको पाइन्छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर र वडा प्रहरी कार्यालय चन्द्रौटाले लागु औषध नियन्त्रणमा चासो नदिएको तथ्यांक र श्रोतको आरोपले पुष्टि गर्दछ । सूचकले दिएको सूचनालाई गम्भीरताका साथ नलिने,सुराकी परिचालनमा चासो नदिने,परिचालन गरेका सादा पोशाकका प्रहरी (घुमुवा) लाई अपराध, लागुऔषध,अवैध कारोबारभन्दा बढि तस्करहरुसंग लाइन मिलाउन परिचालन गर्ने जस्ता कामले लागुऔषध कारोबार नियन्त्रणमा प्रहरीले चासो नदिएको सुरक्षा श्रोतको दाबी छ । प्रहरीको ध्यान तस्करीको लाइन मिलाउने र आफू कमाउने खेलमा भएकै कारण चरेश तथा अन्य लागुऔषध कारोबारीले चन्द्रौटा–कृष्णनगर रुट क्षेत्रलाई ग्रीन जोनको रुपमा लिएका छन् । लागुऔषध कारोबार बढ्दासमेत सुरक्षाकर्मीले त्यसतर्फ ध्यान नदिनुले अर्को आशंकासमेत उब्जाएको छ ।

फोटो : आ.ब. ७७/७८ मा प्रहरीले कृष्णनगरबाट पक्राउ गरेको ४१ किलो चरेश

टिप्पणीहरू