मिलन पाण्डेले विवेकशील ब्युँताउने,मिश्र राजावादी नै भएको ठहर
मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी पुनर्गठन गर्ने भएको छ । पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत् विवेकशील साझा पार्टी पुनर्गठन गर्ने पाण्डेले बताएका छन् ।
अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि पार्टी नेतृत्वविहीन भएको थियो । लामो समयसम्म नेतृत्वविहीन भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेका थिए । त्यसलगत्तै आज पाण्डे पक्षले पार्टी पुनर्गठनको घोषणा गरेको हो ।
आज जारी विज्ञप्तीमा भनिएको छ, ‘के हाम्रो पार्टीको स्थापना राजतन्त्र ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरुको मेहनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्ने भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ?’
त्यस्ता कार्यहरु पार्टी, जनता र मुलुकको हित विपरित भएको उल्लेख गर्दै उक्त समूहले वैकल्पिक राजनीतिमाथिको घातलाई पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प नभएको ठहर गरेको छ । मिश्र नेतृत्वकालमा जालझेल र कीर्ते गरेर मार्ग परिवर्तन दस्तावेजलाई बहुमतका नाममा परिणत गरिएको र अदालतमा मुद्दा दायर भएको प्रसंग पनि कोट्याइएको छ । पाण्डेले भनेका छन्,‘आफ्नै समूहभित्रको भागबण्डा मिलाउन नसकेपछि आन्तरिक गुटको कलहका कारण मिश्रले राजीनामा दिए ।’
टिप्पणीहरू