कोरोनाले चीनमा कुन कुन नेताको जिम्मेवारी खोसियो,नेपालका कर्मचारीको कहाँनेर बदमासी भेटियो ?

कोरोनाले चीनमा कुन कुन नेताको जिम्मेवारी खोसियो,नेपालका कर्मचारीको कहाँनेर बदमासी भेटियो ?

चीनले तिब्बतमा कोरोना संक्रमण रोकथामतर्फ पदीय जिम्मेवारी पूरा नगरेको आरोप भन्दै पाँच जना सरकारी तथा पार्टी अधिकारीहरुलाई बर्खास्त गरेको छ । त्यसरी बर्खास्त हुनेमा ल्हासा शहरको स्वास्थ्य कमिटीका निर्देशकलगायत छन् ।

केही सातादेखि तिब्बतमा अस्वाभाविक ढंगले संक्रमण फैलिएको तर त्यसको रोकथाममा विशेष चासो नदिएको भन्दै सरकारले ल्हासा नगरको स्वास्थ्य आयोगका उपनिर्देशक तथा कम्युनिष्ट पार्टी सचिव फान युएफिङ, सोही नगरमा उक्त आयोगका अध्यक्ष सितान चुओगा र नगरको रोग नियन्त्रण तथा रोकथाम पार्टी शाखा कमिटीका सचिव आमीलाई हटाएको छ ।

ती ठाउँमा नयाँ पदाधिकारी नियुक्त गरिएको पार्टी तथा नगर कमिटीले जनाएका छन् ।

तिब्बतसँग सिमाना जोडिएका कारण नेपालबाट आवतजावत हुँदा कोरोना संक्रमण उता गएको त्यहाँका अधिकारीहरुले आशंका गरेका छन् । तर, नेपालमा भने सरकारी कर्मचारीहरुले आफू मोटाउने,मुलुकको बेइज्जत हुने कार्य गर्दा अहिले चीनसँग खुल्न थालेको उडान र सडक मार्ग पुनः अवरुद्धको अवस्थामा पुगेको छ ।

चीनले कोभिड मापदण्डमा कडाइ गरेका कारण नेपालबाट त्यता जानेले अनिवार्य पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ । तर एकाध हजारमा नक्कली परीक्षण रिपोर्ट बनाइदिने गरिएको कारण चीन पुगेका कतिपय यात्रुमा संक्रमण पुष्टि भएको छ । ‘५ हजारमा पीसीआर परीक्षण रिपोर्ट बनाइदिने तर चीन पुगेका यात्रुको परीक्षण गलत ठहरिने हुँदा देशको बदनाम एक पटक होइन,पटक पटक भएको छ,’ खुन्मिङ्गको आइसोलेसनमा रहेका एक जना नेपालीले जनआस्थालाई बताए ।

उनका अनुसार बल्ल बल्ल खुल्न लागेको चीनसँगको हवाइ उडान अवरुद्ध हुने अवस्थामा पुगेको छ । किनभने अगष्ट ९ तारिखमा त्यहाँ पुगेका एक जना यात्रुमा दुई पटकसम्म परीक्षण गर्दा संक्रमण फेला परेको थियो । अहिले उनलाई त्यहाँको अस्पतालमा लगेर राखिएको छ ।

त्यसैगरी तिब्बतका धेरै ठाउँमा संक्रमण फैलिएपछि कोदारी र रसुवागढी नाका पनि बन्द भएका छन् । अहिले चीनले संक्रमण रोकथाममा पुनः धेरै कडाइ गरेको छ । ल्हासाका सडक सुनसान छन् । स्थानीयहरु स्वास्थ्य परीक्षण गरेर घरैमा बसेका छन् । तर सडकमा परीक्षण गर्ने मानिसको लाइन देखिन्छ ।

अधिकारीहरुले संक्रमण सीमानाकाबाट फैलिएको आशंका गरेपछि हवाई उडान र स्थलमार्गमा थप कडाइ गरिएको बताइन्छ । चीनको नागरिक उड्डययन कार्यालयले अस्ति सार्वजनिक गरेको सूचनाअनुसार हिमालयन एअरलाइन्सको एच ९७८४ उडानमा अगष्ट २ मा काठमाडौंबाट खुनमिङ गएका १४ जना संक्रमित फेला परेका थिए । त्यसपछि पनि लगातार संक्रमित फेला परेपछि अगष्ट २२ सम्म हिमालयनका चार वटा उडान रोकिएका छन् ।

सूचनाअनुसार अब सेप्टेम्बर १३ सम्म ती उडान हुन सक्दैनन् । कुनै भवितव्य नभएमा सेप्टेम्बर २० देखि मात्र काठमाडौंबाट त्यसतर्फ उडान हुनसक्ने बताइएको छ ।

यता हिमालयन एअरलाइन्सले पनि अस्ति काठमाडौंमा एउटा सूचना जारी गरेको छ । जसमा अगष्ट १६ देखि चीनतर्फको उडानमा यात्रुले उडान मितिभन्दा तीन दिन अघिदेखि तोकिएको होटलमा आइसोलेसनमा बस्नुपर्ने भएको छ । आइसोलेसनको व्यवस्था हिमालयन एअरलाइन्सले गर्ने उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘विमानस्थलमा चेक इन हुनुअघि होटलको आइसोलेसनमा यात्रुको पीसीआर र एन्टिजेन परीक्षण गरिनेछ । उनीहरुलाई लाजिम्पाटमा रहेको र्याडिसन होटलमा राखिने छ । मंगलबारको उडानमा जानुअघि यात्रुले र्याडिसन होटलमा शनिबार दिउँसो २ बजेदेखि आइसोलेसन बस्नुपर्ने हुन्छ । त्यसपछि पनि सुरक्षित तवरले विमानस्थल पुर्याएर विमान चढाउने व्यवस्था गरिएको छ । यो प्रक्रिया पूरा नगर्नेलाई चीन जान दिइने छैन ।’

टिप्पणीहरू