बेलायतबाट फर्केलगत्तै कमल थापाको बैठक,प्रचण्डको दिउँसो बसाइ

बेलायतबाट फर्केलगत्तै कमल थापाको बैठक,प्रचण्डको दिउँसो बसाइ

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ । कमल थापाको अध्यक्षतामा उपाध्यक्षहरु लाक्पा तामाङ,जयकुमार खड्का, विष्णु भण्डारी,राजिव पराजुली, महामन्त्रीहरु इन्द्र चित्रकार,सुशील श्रेष्ठ र केन्द्रीय सदस्यहरुसहितको बैठक धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको छ । अध्यक्ष थापा केही साताको बेलायत भ्रमणबाट हिजो साँझ स्वदेश फर्केका हुन् ।

यता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि आजै बोलाइएको छ । दिउँसो १ बजे पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय संसदमा फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक डाकेको हो ।

यता गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बेला कार्यदलको बैठक पनि आजै राखिएकाले सोबारे पनि आन्तरिक छलफल हुने बताइएको छ ।

त्यसैगरी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी सहकार्य र पार्टी एकतासम्बन्धी विषयमा छलफल हुने आकलन गरिएको छ । आगामी निर्वाचनमा भट्टराई नेतृत्वको पार्टीले माओवादी केन्द्रकै चिन्ह लिएर भाग लिने र चुनावपछि पार्टी एकता गर्ने सहमति भइसकेको बताइएको छ ।

टिप्पणीहरू