शीतल निवासअगाडि आत्महत्या गर्न नपाएकी कुमारी आमा मानसिक वार्डमा
१७ वर्षकै उमेरमा दाइको साथीद्वारा “बलात्कार”पछि कुमारी आमा बनेकी धनुषाकी निहारिका राजपुतलाई मानसिक वार्डमा उपचार थालिएको छ । गत शुक्रवार उनी न्याय माग्दै राष्ट्रपति भवन शीतल निवास अघिल्तिर आत्मदाह गर्न गएकी थिइन् । प्रहरीले लतार्दै उनलाई त्यहाँबाट प्रहरी वृत्त महाराजगञ्ज पुर्याएको थियो ।
प्रहरीले सोही दिन साँझ त्रिभुवन शिक्षण अस्पताल,महाराजगञ्जको आकस्मिक कक्षमा लगेर उपचार गरेकोमा अस्तिदेखि सोही अस्पतालको मानसिक वार्डमा पुर्याएर ८ नम्बर बेडमा उपचार भइरहेको बताइएको छ । जिल्ला अदालतले उनको बच्चाको बालाई सफाइ दिएबिरुध्द परेको मुद्दामा उच्च अदालतले भदौ ५ गतेको पेशी तोकेको छ ।
यसअघि उनलाई सिंहदरबार र सर्वोच्च अदालत अघिल्तिर अनसन बस्न खोज्दा पनि प्रहरीले तानेर बसन्तपुर पुर्याएको थियो । उनी साउन २० गतेदेखि बसन्तपुरमा अनसन बस्दै आएकी थिइन् । अहिले अस्पतालमा पनि अनसन जारी राखेको बताइएको छ । उनको साथमा २ वर्षको काखे बालक छ ।
टिप्पणीहरू