महामारीको चौथो लहरको चेतावनी
नेपालमा केही महिनाअघि दैनिक औसत चार जनामा देखिएको संक्रमण बढ्दै गएर अहिले दैनिक औसत साढे पाँच सयको संख्यामा संक्रमित भेटिएका छन् । गत असारकोे शुरूदेखि नै उकालो लागेको कोरोना संक्रमणदर अहिले झन् बढ्दो छ । सक्रिय संक्रमितको संख्या साढे पाँच हजार पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार दैनिक संक्रमित र मृत्युदर बढ्दै गएको छ । हिजो चार हजार आठ सय २९ जनामा गरिएको परीक्षणमा चार सय ५५ जनामा संक्रमण देखिएको छ । त्यस्तै, हिजो संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ८८ पुगेको छ ।
छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिएका छन् । खुला सीमानाका कारण संक्रमित भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको उनको भनाइ छ ।
ती संक्रमितले काठमाडौंमा दिनहुँ संक्रमण बढाइरहेको उनको बुझाइ छ । दास भन्छन्, ‘नेपाल प्रवेश गर्ने सबै नाकामा कडाइ गरिएको छ । अहिले स्वास्थ्य मापडण्डहरूसमेत पालना नगरेकाले संक्रमित बढेको हो ।’
त्यस्तै, अहिलेको बिए फोर र बिए फाइभ सबभेरिएण्टका कारण संक्रमण बढिरहेको उनले बताए । उनले भने ’बिए फोर र बिए फाइभ एक अर्काबाट एकदमै छिटो सर्ने भएकाले संक्रमित बढेको हो ।’ यस कारण नेपालमा चौथो लहर आउन सक्ने सम्भावना बढेको हो । उनले भने, ‘अहिलेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने चौथो लहर नआउला भन्न सकिन्न । बिए फोर र बिए फाइब भेरिएण्ट छिटो फैलिने भएकाले संक्रिमतको संख्या बढेको हो ।’
ओमिक्रोनका सबभेरिएन्ट विश्वभर नै देखिरहेका कारण नयाँ भेरिएन्ट उत्पन्न हुन सक्ने जोखिम अझै नटरेको सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । ‘अझै पनि साना बालबालिकालाई खोप लगाइएको छैन । जोखिममा रहेका अन्य समूहमा पनि खोप लगाएको वा नलगाएकोबारे अध्ययन गरिएको छैन । खोपको आवश्यकता भएकाको अध्ययन गरेर खोपको प्रयोगमा ध्यान दिन आवश्यक देखिएको छ,’ उनले भने ।
ओमिक्रोनका सबभेरियन्ट बिए फोर र बिए फाइभका कारण कोरोनाको अर्को लहर आउन सक्ने संकेत देखिएको सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो लहरमा जस्तो धेरै विपत्ति नआए पनि जोखिम भने अझै टरेको छैन । अहिले धेरै मानिसले खोप लगाएका छन् । त्यसैले भयावहको अवस्था कम भए पनि दैनिक संक्रमण र मृत्युदर बढेको तथ्यांकअनुसार अर्को लहर आउन सक्ने जोखिम कायम रहेको उनले बताए । स्वास्थ्य मापदण्ड पालना नगर्दा र जथाभावी मानिसको भीडले समस्या थपिएको विज्ञहरुको निचोड छ ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्याको ९९.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यो समूहमा ८७.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन् । २७ जिल्लामा पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ ।
असार ९ देखि असार १५ गतेसम्म सञ्चालन भएको अभियानमा ९० प्रतिशतभन्दा बढी लक्षित बालबालिकाले खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो चरण सम्पन्न भएका जिल्लामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने मन्त्रालयले तयारी गरेको छ ।
देशभर पाँचदेखि १२ वर्ष उमेर समूहका ४० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य सरकारले राखेको छ । हालसम्म मुलुकभर चार करोड ६९ लाख ९९ हजार छ सय छ डोज खोप प्रयोगमा आइसकेको छ ।
टिप्पणीहरू