झन् झन् गन्हाउँदै राजधानी, सबैको मनोमानी
स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेकाख काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले कार्य प्रारम्भ गरेको तीन महिना पुग्दै छ । यो अवधिमा सबैभन्दा धेरै समस्या राजधानीका सडक, गल्लीमा थुप्रिएको फोहोर बनेको छ ।
गत स्थानीय तह निर्वाचनमा उनी आफैँले काठमाडौँको मुख्य समस्या फोहोर व्यवस्थापन रहेको बताएका थिए । उनले निर्वाचन अभियानमा फोहोर व्यवस्थापनको रटान लगाएका थिए । र्यापर र सहरी इञ्जिनियरले पनि झण्डै सय दिनको समयमा कुनै उल्लेखनीय प्रगति र परिवर्तनको आभास दिलाउन सकेका छैनन् ।
उनले काठमाडौँको फोहोरको उचित समाधान नभएसम्म गलामा माला र खादा नहाल्ने वचन दिएका थिए । न फोहोर व्यवस्थापन भएको छ, न उनको काँधमा कुनै खादा नै हालिएको छ । बरु मेयर निर्वाचित भएलगत्तै बञ्चरे डाँडा पुगेर स्थानीयसँग हस्ताक्षर गरेर फर्किएका बालेन अहिले ती सम्झौता पालना नहुँदा समस्यामा परेका हुन् ।
पछिल्लो सम्झौताले सुरुमा केही आशा जगाए पनि अन्ततः उधारो सम्झौता भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । यता राजधानीमा फोहोर नउठ्दा मतदाता र महानगरबासी जुन जोगी आएपनि कानै चिरेको भन्न थालेका छन् ।
स्वयम् मेयरले भनेका छन्, ‘बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको निम्ति धेरै संरचनाहरू बनिसकेका छन् । भूमि अधिनस्थ, संरचना निर्माण र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता कार्यमा पाँच अर्ब खर्च भइसकेको छ । यो झुक्क्याएर गरिएको थिएन । यसका वैधानिक सम्झौताहरू छन् । ती सम्झौताहरूको पालना गर्नु सबैको कर्तव्य हो ।’
सिसडोल र बञ्चरे डाँडामा सधैँको लफडा भइरहने कारणमध्ये पानीको मुहानमा फोहोर फालिएको, फोहोर बोक्ने गाडीले बाख्रा, कुखुरा, चल्ला किचेर मारेको, सडकमा धुलो उडाएको भन्ने रहँदै आएको छ । त्यही कारण पटक पटक अवरोध पनि भएको छ । अहिले केही राजनीतिक दल र तिनका प्रतिनिधि रहेको निकायले विज्ञप्ति नै जारी गरेर सँधैको निम्ति अवरोध घोषणा गरेका छन् ।
राज्यले ५ अर्ब खर्च गरिसकेको भने पनि उक्त ठाउँ वरिपरिका स्थानीय जनताको स्वास्थ्य, शिक्षा, रोजगार जस्ता विषमा सम्बन्धित निकायले कुनै चासो दिएको पाइँदैन । दीर्घकालीन समाधान गर्न हजारौँ उपायहरू छन् भन्दै आएका मेयर साहले कुनै उपायको प्रयोग गरेको पनि देखिँदैन ।
युवा नेतृत्वले महानगरको साँचो हातमा लिएको भन्दै गत जेठमा बालेनको पक्षमा काठमाडौँ महानगरबासी निकै उत्साहित थिए । अहिले त्यहि महानगरमा फोहोर उठ्न मुस्किल परेको छ । महानगर प्रमुख आफैँ राजनीतिक चौघेरा र चंगुलमा परेको बताउन थालिएको छ ।
उपत्यकाको फोहोर नउठ्दा स्वाभाविक हिसाबले प्रश्न मेयर साहतर्फ नै तेर्सिने हो । तर यसका पछाडि राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्षहरूको दोहोरो भूमिकाका कारण पनि असहयोग भएको मेयर निकटस्थहरुको बुझाइ छ । आगामी मंसिरको चुनावमा माहौल आफ्नो पक्षमा पार्न राजनीतिक दलका जनप्रतिनिधि, सिसडोल नजिकैका गाउँपालिका र नगरपालिकाका राजनीतिक प्रतिनिधिले खोँचे थापेको उनीहरु बताउँछन् ।
टिप्पणीहरू