इटलीले जितायो नेपाललाई

इटलीले जितायो नेपाललाई

नेपाल इन्भेष्टमेण्ट बैंकले दुई अर्ब चार करोड रूपैयाँको मुद्दा जितेको छ । इटलीको एउटा अदालतमा परेको तनहुँ जलविद्युत परियोजनासम्बन्धी मुद्दा बैंकले झण्डै चौध महिनापछि आज जितेको हो । उक्त परियोजना निर्माणमा खटिएको इटलीको मुराटोरी इ केमिन्टिस्टि (सीएमसी) ले स्थानीय एउटा बैंकको जमानत (ग्यारेण्टी) इन्भेष्टमेण्ट बैंकमार्फत् राखेको थियो । तर,सिएमसीको कार्यसम्पादन सन्तोषजनक नभएपछि तनहुँ हाइड्रोले माग गरेको ग्यारेण्टी रकम इन्भेष्टमेण्ट बैंकले भुक्तानी गरिदिएको थियो ।

यता, आफ्नो जमानत रकम जफत भएपछि सिएमसीले उक्त रकम फिर्ता हुनुपर्ने माग गर्दै एउटा अदालतमा इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकबिरुद्ध मुद्दा हालेको थियो ।

मुद्दा परेको कारण देखाउँदै इन्टेसा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको ग्यारेण्टी रकम फिर्ता गरेन । इन्टेसाले सिएमसीको तर्फबाट ८५ करोड १४ लाख १६ हजार रूपैयाँ र ८७ लाख ४९ हजार युरोको ग्यारेन्टी दिएको थियो ।

अदालतले प्रारम्भिक इजलासमा हराइदिएपछि एकतर्फी सुनुवाईमा निर्णय गरिएको भन्दै इन्भेष्टमेन्ट बैंकले अदालतमा पुनरावेदन गरेको थियो । आज तीनजना न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गर्दै उक्त रकम इन्भेष्टमेण्ट बैंकलाई फिर्ता गर्न इन्टेसा सानपाउलो बैंकलाई आदेश दिएको हो ।

टिप्पणीहरू