अष्ट्रेलियाको सिड्नीमा सिँगो नेपाल उर्लियो

अष्ट्रेलियाको सिड्नीमा सिँगो नेपाल उर्लियो

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स राज्य परिषदको विशेष आयोजनामा सिड्नीमा भव्यताका साथ नेपाली फेस्टिवल सिड्नी २०२२ सम्पन्न भएको छ । 

इतिहासकै सबैभन्दा धेरै मानिस सहभागी उक्त कार्यक्रमको सुरुवात नेपाली प्रभातफेरी अर्थात परेडबाट भएको थियो ।

बरउड पार्कमा भएको फेस्टिवलमा कोमर स्ट्रिटबाट प्रभातफेरी शुरू गरिएको थियो । जसमा न्यू साउथ वेल्य राज्यमा रहेका विभिन्न नेपाली समुदायहरुको तर्फबाट नेपाली कला, संस्कृति, परम्परा देखाउने नाँच, झाँकी, भजन कृतन, बाजागाजा, लाखे, शिव पार्वती, कुमारी रथयात्रा, पञ्चकन्याका साथमा विभिन्न झाँकी र संस्कृति झल्किने प्रस्तुति थियो ।

क्वीन्सफोर्ड कलेज टाइटल स्पोन्सर रहेको उक्त महोत्सवमा दर्जनांै व्यवसायिक तथा सांस्कृतिक स्टलहरु प्रदर्शनीमा राखिएको थियो । स्टलमै राखिएको एक नेपाली घरले सबै नेपाली तथा अन्य मूलका मानिसहरुको पनि मत जित्न सफल भयो । जसमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि विभिन्न मुर्ती तथा परम्परागत चूल्हो, नेपाली किचनका सामग्रीहरु लगायत विभिन्न मौलिक विषयबस्तुहरु राखिएको थियो । उक्त दृश्य हेरेर यहाँ रहेका नेपाली मात्र नभएर अन्य मूलका मानिसहरुले पनि उत्साह प्रकट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गर्दै एनआरएनएनले आयोजना गरेको नेपाली फेस्टिवल अष्ट्रेलियामा नेपाली भाषा, कला, संस्कृतिको जग बसाउनका निम्ति महत्वपूर्ण हुने बताए । अष्ट्रेलियन समुदायमा बढ्दै गइरहेको नेपाली जनसंख्यालाई मध्यनजर गर्दै यसप्रकारका सांस्कृतिक पर्वले नेपाली पहिचान र मौलिकताको विकासमा टेवा पुग्ने मात्र नभएर नेपालमा पर्यटन प्रर्वद्धनमा पनि भूमिका खेल्ने बताए ।


त्यसैगरी कार्यक्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको तर्फबाट प्रतिनिधि सेली सिटौ, न्यू साउथ वेल्सका सांस्कृतिक मन्त्री मार्क कोर्स, संघीय सांसद एन्ड्रयू ब्राग, कोग्राका एमपी क्रिस मिन्स, स्ट्राथफिल्डका एमपी जेसन येट सन लि, बरउडका मेयर जोन फकर लर्ड, एनआरएनए आइसीसी अध्यक्ष बद्री केसी, कम्युनिटी माइग्रेन्टको तर्फबाट मेलिसा मेन्टेरियो, महिला काउन्सिलको तर्फबाट ज्याकी मुनरो, पूर्वमन्त्री केशव के बुढाथोकी, पारामाटा काउन्सिलका उपप्रमुख समीर पाण्डे, बरउड काउन्सिलका ह्युज रविन्सन, मोर्टडेल वार्ड काउन्सिलका निक स्मेडर्ली, क्यानटरबरी बेंकस्टाउनका भद्रा वाइवा, मेरियन सिटीका काउन्सिलर रेनुका लामा, एनआरएनए पोर्चुगलका अध्यक्ष दिपक सापकोटा लगायतले शुभकामना प्रदान गरेका थिए ।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाली विविधता र नेपाली मौलिक पन बोकेको नेपाली मेलाले यहाँ हुर्कदै गरेका ससाना बालबालिकालाई पनि विभिन्न नेपाली कला संस्कृतिको पहिचान गराउन मद्दत पुग्ने एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले बताए ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक एवं नेपाल फेस्टिवल सिड्नी मुल समारोह समिति सयोजक देव गुरुङले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, नेपाली मौलिक खानालाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवद्र्धन गर्ने र सिगों नेपाललाई अस्ट्रेलियामा देखाउने उद्धेश्य सहित हुँदै आएको कार्यक्रम यस वर्ष पनि भव्य बन्न सफल भएको बताए ।

“फेस्टिबलले नेपाललाई अस्ट्रेलियामा समेत झल्काएको छ, यसले हाम्रा मौलिक कला संस्कृतिको प्रवद्र्धन र अस्ट्रेलियामा जन्मिएका हाम्रा नयाँ पुस्तालाई समेत पहिचान गराएको महसुस हामीलाई भएको छ”, गुरुङले भने ।

उनले यो कार्यक्रम गर्दैगर्दा न्यू साउथ वेल्स सरकारबाट १५ हजार डलर सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गर्दै राज्य सरकारप्रति आभार समेत व्यक्त गरे ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको अध्यक्षता रहेको उक्त पर्व अन्तर्गत सांस्कृतिक कार्यक्रमको सञ्चालन मदन कोइरालाले गरेका थिए भने औपचारिक कार्यक्रम सञ्चालन सहजीकरण एनआरएनए अष्ट्रेलिया महासचिव डा. राजु अधिकारी, एनआरएनए अष्ट्रेलिया सचिव सन्ध्या शाह, एनआरएनए न्यू साउथ वेल्स सचिव विनोद कुवंर, एनआरएनए एससीसी कोषाध्यक्ष भावना श्रेष्ठ, एनआरएनए एससीसी सदस्य दीपा जोशीले गरेका थिए ।

फेस्टिबल सम्पन्न गर्न गठित उपसिमितिमा एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्स राज्य परिषद उपसंयोजक सुकृति भट्ट, न्यू साउथ वेल्स राज्य परिषद सचिव विनोद कुँवर, कोषाध्यक्ष भावना श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन, ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतिक समिति, परेड व्यवस्थापनमा एनआरएनए अस्ट्रेलिया सचिव सन्ध्या शाह सयोंजक रहेको उपसमिति गठन गरिएको थियो ।

आयोजकले कार्यक्रम हेर्न नेपाली मात्र नभएर अन्य मूलका मानिस समेत गरी ३० हजार भन्दा धेरै मानिस सहभागी भएको विश्वास गरेका छन् । कार्यक्रमको लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो ।

कार्यक्रममा नेपाली समुदाय मात्र नभएर यहाँको समुदायको तर्फबाट विभिन्न नेतृत्वहरु सहभागी भए भने बहुचर्चित नेपाली कलाकारहरु प्रकाश सपुत, गायक दिपक बज्राचार्य र रिदम ब्याण्डका साथमा हास्यकलाकार सन्दिप क्षेत्रीले स्टेज तताउँदा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । कलाकारहरुले गाएको देशभक्ति गीतहरुमा दर्शकले निकै रमाइलो गरे । 

कार्यक्रमको शुरूवातमा अष्ट्रेलियामा जन्मेर हुर्कंदै गरेका पाठशाला अष्ट्रेलियाका साना नानी बाबुहरूले नेपालको राष्ट्रिय गान गाएका थिए । कतिपयले नेपाली टोन त कतिपयले ईंगलिस टोनमा नेपाली राष्ट्रिय गान गाए ।

समारोहमा न्यू साउथ वेल्स राज्य परिषद वरिपरि रहेका विभिन्न सघंसंस्थाले सांस्कृतिक परेडमा सहभागी भएका थिए । उनीहरुलाई स्टेजमा ल्याएर सम्मान तथा परिचय समेत गरिएको थियो । गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाको आयोजनामा हरेक २ वर्षमा आयोजना गर्ने कार्यक्रम सिड्नीबाट सुरु हुँदै अन्य राज्यमा पनि हुँदै आएको छ । 

सन् २००६ मा सिड्नीबाट सुरु भएको यो कार्यक्रम हाल अन्य राज्यहरुमा पनि दुई दुई वर्षको अन्तरमा हुँदै आएको छ । यसअघि मेलवर्न, ब्रिसबेन र तास्मानियामा सम्पन्न भइसकेको छ ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया, क्यानवेरास्थित नेपाली दूतावास र महावाणिज्यदूत कार्यालयको सयुंक्त सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

टिप्पणीहरू