मामला जेरी र शंकरको, हमला अनलाइनर र युट्युबरको
तिहारअघि लोकगायक, गायिका बबिता बानियाँ जेरी र उहाँको श्रीमान् शंकर क्षेत्रीको दाम्पत्य जीवनमा खटपट भएको विषय एकाएक बाहिर आयो । जेरीका अनुसार श्रीमान्को बढी इच्छामा सम्बन्धविच्छेदको निवेदन दर्ता भएको हो ।
जेरी र शंकरको सम्बन्धमा उत्पन्न विग्रहलाई केही सञ्चारमाध्यमले सर्वप्रथम बाहिर ल्याए । त्यसलगत्तै यसलाई मसला बनाएर पस्किरहन अनलाइन मिडिया, युट्युबर, अनलाइन टिभी, कतिपय व्यक्तिहरू अझै सक्रिय छन् । चर्र्चित हुने र भ्युअर्स बढाउने नाममा झूट, भ्रम र अफवाहलाई नै सञ्चारकर्म ठान्ने केहीले त जेरी र शंकरबीच डिभोर्स नै भइसकेको भनी स्वघोषणा नै गरिदिए । यसको परीक्षण र पुष्टि नगरी, सत्य तथ्य नजाँची धेरैले जस्ताको तस्तै सम्प्रेषण गरे, गरिरहेका छन् । उत्तरआधुनिकताको प्रभाव, उपभोक्तावादी सोच र पुँजीवादी व्यवहार, शैलीका कारण आज समाजका विभिन्न सम्बन्ध भत्कँदै गएका छन् । समाज हिजोजस्तो बलियो छैन आज । घरमा नै अनमेल, द्वन्द्व, झैगडा, वैमनस्यता बढेको छ । यस्तो विग्रह श्रीमान्, श्रीमतीमा समेत सरेको छ । चाहे श्रीमान् वैदेशिक रोजगारीमा गएको बहाना होस् या एकअर्कामा माया नभएको, मिल्न नसकेको आदि कारण देखाई सम्बन्धविच्छेद हुने क्रम बढेको तथ्यबाट नै देखिन्छ । भन्न त श्रीमान् श्रीमतीको झगडालाई परालको आगो भनिन्छ । यो जतिबेला पनि मिलनमा परिणत हुन सक्छ । समाजमा दिनहुँ यस्ता सयौँ घटना भइरहेका हुनसक्छन् । त्यही भएर त सम्बन्धविच्छेदको अधिकार राखियो ।
प्रेम एउटा कुरा हो । विवाह अर्काे कुरा । प्रेम र विवाहको मुड एउटै हुँदैन । प्रेममा जति उत्साह, उमंग हुन्छ, विवाहपछि विस्तारै घट्दै जान्छ । प्रेममा छँदा त्यो जोडीले संसार बिर्सन्छ । विचारमय (बायाँ) दिमाग होइन, भावमय (दायाँ) दिमाग चल्छ । त्यसैले उनीहरू सँगसँगै मर्न तयार हुन्छन् तर विवाहपछि सन्तान उत्पादनसँगै आफूहरू र परिवारलाई व्यवस्थापन गर्न नसक्दा डिभोर्स मात्र होइन एकले अर्कालाई मार्न पनि पछि हट्दैनन् । किनकि वैवाहिक जीवन व्यवहारमा जोडिन्छ । हाम्रोजस्तो समाजमा सामाजिक जिम्मेवारी र पारिवारिक सम्बन्धको व्यवस्थापन गर्न श्रीमतीलाई भन्दा श्रीमान्लाई गाह्रो छ । एकातिर प्रेमीले प्रेममा फस्दा प्रेमिकासँग गरेको अन्धप्रतिवद्धता पूरा गर्न सक्दैन भने अर्काेतिर परिवार र श्रीमती(पे्रमिका)लाई मिलाउन नसकेपछि ऊ अन्तरद्धन्द्धमा फस्छ । परिवारसँग व्यावहारिक रूपमा हेलमेल नगर्ने र श्रीमान्को दुःख नबुझ्ने, डिमान्ड मात्र गर्ने श्रीमती भइदिइन् भने श्रीमान् दोहोरो तनावमा पर्दछ । अर्काेतिर श्रीमान् श्रीमतीबीच विश्वास र समझदारी नभएपछि, प्रेम घट्दै गएपछि सम्बन्ध बिग्रन्छ । सामाजिक परिवेश, महत्वाकांक्षा, लोकप्रियता आदिका कारण जेरी र शंकरको वैवाहिक सम्बन्धमा पनि यस्तै भएको हुन सक्छ । तर यस्ता विषयलाई हाम्रा सबैजसो समाचार माध्यम र पत्रकारले यसरी उठाएको पाइँदैन । तिललाई पहाड बनाएर आँसु, भ्रम बाँडेर यसैको व्यापार गरिरहेको देखिन्छ । यस्तो घटना किन भइरहेको छ भनेर अध्ययन, अनुसन्धान, विश्लेषण नगरी सतही रूपमा छताछुल्ल पार्नुलाई ठूलो बहादुरी ठानेको पाइन्छ ।
हो, आज समाजमा उदाएका सबै युट्युबहरू नराम्रा छैनन् । उनीहरूको कर्म पत्रकारिताको मूल्य, मान्यता र अभ्याससँग मिल्दोजुल्दो छ, छैन भन्ने बहस फरक हो । कतिपयको उद्देश्य पवित्र नै भएको पाइए पनि धेरैजसोको कर्म मानिसमा भ्रम छर्ने नै देखिन्छ । कतिपय सामान्य व्यक्ति र चर्चामा आएका सञ्चारकर्मीले समेत व्यक्तिगत आइडी खोलेर सामान्य विषयलाई अनावश्यक रूपमा उछाल्ने गरेको पाइन्छ । यस्तो अवस्थामा यसको छिनोफानो कसरी लगाउने भनेर राज्यका सम्बन्धित निकाय र सरोकारवालाहरू स्पष्ट हुनुपर्ने हो । वर्तमान कानुनमा कुनै प्रावधान नभए पनि प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता कर्म गर्न इच्छुक युट्युब, अनलाइन टिभीलाई पत्रकार आचारसंहिताको कसीमा राखेर हेर्ने भनेर प्रस्ट पारिसकेको छ । प्रहरी प्रशासनसँग प्रत्यक्ष कुराकानी पनि भएको छ । यस्तो अवस्थामा प्रहरी प्रशासन अलमलमा पर्न नपर्ने हो । हो, सबै सामाजिक सञ्जालको एक एक अनुसन्धान गर्ने कार्य सहज छैन तैपनि प्रहरी प्रशासन समाजमा अफवाह फैलाउने सामाजिक प्रयोगकर्ता (व्यक्ति वा संस्था ), युट्युब च्यानल, अनलाइन टिभीलाई तत्काल कारबाही गर्न हुनुपर्नेजति अग्रसर भएको पाइँदैन । जसले गर्दा यस्तो नियत राखेकाहरूको मनोबल बढेर भ्रम कर्ममा रमाइरहेको छ । समाजको ठूलो तप्का यस्ताकै विश्वासमा पछि लागिरहेको छ ।
आजको अवस्थामा चाहे पनि नचाहे पनि युट्युब सञ्चार साधनका रूपमा जबर्जस्त स्थापित भइसक्यो । हरेक व्यक्ति, संस्था, संगठनले यसको प्रयोग गर्न थालिसके । त्यसैले राज्यले यसलाई निषेध गरेर जान सक्ने अवस्था छैन । हुन त सिद्धान्ततः सामाजिक सञ्जालबाट पत्रकारिता हुनै सक्दैन र यसको उद्देश्य, प्रकृति पत्रकारिता गर्ने पनि होइन, लिंक सेयर गर्ने मात्र हो तापनि पत्रकारिता कर्म गर्ने शैलीमा आफूलाई उभ्याएका र पत्रकार आचारसंहिताको घेरामा बाँधिने प्रतिवद्धता जनाएकालाई प्रेस काउन्सिलले हेर्न सक्ने हुँदा राज्यले अध्ययन, अनुसन्धान गरी अन्यलाई व्यवस्थित गर्नुको विकल्प छैन । साथै, पत्रकारिताको कसीमा रहेर चल्न चाहनेलाई अनुगमन, कारबाही गर्ने जिम्मा प्रेस काउन्सिल नेपाललाई कानुनी रूपमा नै दिइनुपर्छ । कानुनको स्पष्ट व्यवस्था नहुञ्जेलसम्म सरकारको निर्णयबाट काउन्सिललाई यस्तो अधिकार प्रदान गरिनुपर्छ ।
टिप्पणीहरू