थाइल्याण्डमा फेरि चम्किए नेपाली

थाइल्याण्डमा फेरि चम्किए नेपाली

महामारीले सेलाएकाे थाइल्याण्डकाे मनाेहर शहर 'फुकेट' एकाएक चम्किएकाे छ । त्यसाे त थाइल्याण्ड पर्यटनमा निर्भर मुलुक हो । हरेक वर्ष थाइल्याण्डले कराेडाैँ पर्यटकलाई बैंककदेखि फुकेटसम्म तानिरहेकाे छ । पर्यटकहरूले घेरिएको फुकेटमा हजारौं थाई–नेपाली बस्छन् ।

उनीहरू मन्दिरदेखि मार्केटसम्म,सडकदेखि समुन्द्रसम्म भेटिन्छन् । फुकेट शहरमा थप पर्यटक तान्न पाटोङ नगरपालिकाले आयोजना गरेको 'पाटोङ बिच' 'कार्निभल फेस्टिभल'मा थाई–नेपाली संघ फुकेट शाखाका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका छन् ।

उनीहरूले ऐतिहासिक 'कार्निभल–वाक'मा नेपाली परम्परागत पोशाक लगाएका छन् ।दौरा,सुरुवाल,टोपी तथा गुन्यु चोलीमा सजिएका छन्, थाई–नेपाली । थाइल्याण्डमा नेपाली भाषीहरूको यकिन तथ्यांक छैन । तर एउटा विशाल देशमा जातीय अस्तित्वको जर्गेना गर्दैछन् ।

थाइल्याण्डमा आफ्नो मौलिक कला–संस्कृति जोगाउन / फैलाउन सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका छ । धार्मिक संस्था र मन्दिरमार्फत् नेपाली भाषा जोगाएर नेपालीपन कायमै राखेको बताउँछन् ।

कतिपय नेपाली आफैंले व्यापार गर्छन् । ट्याक्सी चलाउँछन् । सडकमा खाना बेच्छन् । सानातिना सटर खोलेका छन् । घर–जग्गाको कारोबारमा जमेका छन् । महाजनको घरमा काम गर्छन् । कतिपय थाई विद्यालयमा पढाउँछन् । उद्योग,कलकारखानासम्मै नेपालीहरू पुगेका छन्।

टिप्पणीहरू