समय वर्वाद नगर्न रविको सल्लाह

समय वर्वाद नगर्न रविको सल्लाह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिजो दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगे । गृहमन्त्री भएपछि प्रहरी मुख्यालयको निरीक्षण भ्रमण गर्ने परम्परालाई पछ्याउँदै उनी हिजो त्यहाँ गएका हुन् ।

छोटो समयमा चर्चा कमाएर २० सीट सांसदसहित सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी लिएपछि प्रहरी संगठनका सारा उपल्ला अधिकृतलाई भेला गरेर उनले निर्देशन दिन भ्याएका छन्  । सोही क्रममा हिजो बिहानै प्रहरीले सवारी साधन पार्किङको लागि नजिकैका पार्टी प्यालेस, बाल मन्दिरलगायत स्थान तोकेको थियो ।

अस्ति बिहान मन्त्री क्वार्टर,पुल्चोकमा सैनिक सलामी लिएका उनी हिजो निकै फूर्तिका साथ नक्साल पुगेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीबाट सम्मान लिएपछि उनलाई नेतृत्वले संगठनको परिचय गराएको थियो । 

आफ्नो धारणा राख्ने क्रममा लामिछानेले पैसा र पुलिसको सम्बन्धवारे कुरो उठाएका थिए । उनले विभिन्न दर्जाका कर्मचारी उठ्तीपुठ्तीमा संलग्न भएको खबर आइरहेको सन्दर्भमा चेतावनीयुक्त शैलीमा भने, ‘पैसा उठाउने पुलिसलाई मात्रै होइन, पैसा उठाउन पठाउने हाकिमलाई पनि कारवाही गर्नेछु  ।’

उनले प्रहरीले गरेका सबै राम्रा कामको जिम्मा लिने प्रतिबद्धता पनि जनाएका छन् । तर राजनीतिक दल र ती निकट केही युवामाथि भने आक्रोश पोखेका थिए । ‘राजनीतिक दलहरुले पालेका गुण्डा र तिनको संरक्षणमा भइरहेको कारोबारलाई ठेगान लगाउँछु । यसमा प्रहरीले सहयोग गर्नुपर्छ,’ उनको भनाइ थियो ।

त्यसैगरी प्रहरी अनुसन्धानको बारेमा पनि मन्त्रीले केही धारणा राखेका थिए । उनले कुनै पनि घटनाको अनुसन्धानमा ध्यान दिन अह्राए । एकपक्षीय मात्र नभई तथ्य र तत्काल भेटिएको प्रमाणको आधारलाई पनि अनुसन्धानमा समावेश गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘त्यसपछि मात्रै कुनै पनि अनुसन्धान टुंगो लगाउनुहोला ।’

प्रहरीका हाकिमहरुले राजनीतिक नेतृत्व र मन्त्रीलाई आफ्नो स्वार्थअनुकूल काम गराउने सम्भावनालाई हिजै उनले सांकेतिक रुपमा रोक लगाएका छन् । राम्रा कामको सल्लाह र सुझाव लिएर आउँदा आफूलाई कुनै अप्ठेरो नभएको उनले बताएका हुन् । ‘तर मेरो अमूल्य समय बर्बाद गर्न नचाहिँदो कुरा लिएर नआउनु होला,’ उनले चेतावनीको शैलीमा निर्देशन दिएका थिए ।

टिप्पणीहरू