आर्मी ब्यारेक नजिकै भएको दुर्घटनामा एकको मृत्यु

आर्मी ब्यारेक नजिकै भएको दुर्घटनामा एकको मृत्यु

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं २ भैँसेस्थित नेपाली सेनाको कालीप्रसाद गण नजिकै भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पिक अप भ्यान पल्टिँदा एकजनाको ज्यान गएसँगै अन्य ८ जना घाइते भएका हुन् । 

हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै थाहानगर जाने क्रममा रहेको ना ४ च ९४१ नं को पिक अप भ्यान अनियन्त्रित भई नालीमा खसेको हो । दुर्घटनामा परी बाराको बिश्रामपुर गाउँपालिका ३ बस्ने २० बर्षका राहुलकुमार पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनालगत्तै उद्धार गरी हेटौँडा ल्याइएको पण्डितको हेटौँडा  अस्पतालमै ज्यान गएको हो । घटनामा परी भारत झारखण्डका बिजय दास,वीरगन्ज १७ का सुमित गुप्ता,पर्सा बौदरमाई नगरपालिका ५ का २६ बर्षीय उमेश कुशवाह,बारा जिल्लाको बिश्रामपुर गाउँपालिका ३ मुसरहवाका शिवजी साह,धिरज चौरसिया, पप्पुकुमार गुप्ता र अजय चौरसिया घाइते भएका छन् । दुर्घटनापछि भ्यान चालक सम्पर्कबाहिर रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू