वर्षमान पुनले सरकार बाहिरै बसेर प्रचण्डलाई सफल बनाउने

वर्षमान पुनले सरकार बाहिरै बसेर प्रचण्डलाई सफल बनाउने

एमाले र माओवादीलाई एक ठाउँमा ल्याएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण र निर्णयक भूमिका खेलेका माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुन अनन्तले आफू मन्त्री नबन्ने घोषणा गरेका छन् । माओवादीमा केही निश्चित व्यक्तिहरुले मात्र सँधै अवसर पाउने गरेको आरोप लागिरहेका बेला उनले यस पटक मन्त्री नबन्ने बताएका हुन् । 

पुनलाई वर्तमान सत्ता गठबन्धनको मुख्य सूत्रधार मानिएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा उनले दोस्रो तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए । 

चीनमा उपचार गराएर फर्किएलगत्तै उनी गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु । यस पटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु ।’ पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ छ । 

उपमहासचिव पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । पहिलो पटक मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएको विषयलाई कारण बनाउँदै पुन सरकारमा जान अनिच्छुक भएका समाचार आएका थिए ।

‘धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जाने÷नजाने भन्ने हुँदैन’, पुनले भने, ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो ।’ 

राजनीतिक जटिलताबीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको उनको दाबी छ । 

फरक प्रसङ्गमा पुनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकले कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा परिपक्वता र कुशलता प्रदर्शन गर्नुपर्ने बताए । सरकार र आफ्नो दलले दुई छिमेकी मुलुक भारत र चीन तथा अमेरिकासहित सबै मित्रराष्ट्रसँग समानता र सहअस्तित्वका आधारमा बराबरीको सम्बन्ध राख्ने विषयलाई सँधै केन्द्रमा राख्ने उनको भनाइ थियो ।

‘कहिले कता र कहिले कता ढल्किने गर्दा कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुन्छ । हामी कतै ढल्किने भन्दा पनि नेपालतिर ढल्किनुपर्छ’, पुनले भने, ‘छिमेकी र अरु अन्तर्राष्ट्रिय मित्रहरुका जायज र स्वाभाविक चासोलाई सम्बोधन गर्नुपर्छ । सबैसँग सहयोग र सहकार्य गरेर जानुपर्छ भन्ने नै सरकार र हाम्रो दलको परराष्ट्र नीति सञ्चालनको आधार हो ।’

 

टिप्पणीहरू