रक्सी खाएर अण्डकोषमा हान्दा नाति ठहरै

रक्सी खाएर अण्डकोषमा हान्दा नाति ठहरै

रक्सी सेवन गरेर सधैँजसो अर्धहोसमा हिँडिरहने एक अधबैंसेले नाताले नाति पर्ने १२ वर्षे बालकको हत्या गरेको रहस्य खुलेको छ । मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका– १६ का १२ वर्षीय बालक मुस्कान भनिने सुजन थिङको हत्या सोही स्थानमा घर भएका मृतकका काका हजुरबुवा नाता पर्ने ३८ वर्षीय आइतसिं भोम्जनले गरेको पत्ता लागेको हो । 

घटनालाई यति रहस्यमय बनाइयो कि भोम्जनले बालकको अण्डकोषमा प्रहार गरेर बेहोस मात्र बनाएनन्, काँधमा बोकेर नजिकैको जरुङ्गे सामुदायिक वनको रूखमा लगी खादाले बाँधेर झुन्ड्याए । त्यतिले मात्रै नपुग्दा बालकको दुबै हात बाँधे । रूखमा झुन्डिएको शवको हात किन बाँधियो ? भन्ने कोणबाट प्रहरीले थालेको अनुसन्धानले हत्यारा पत्ता लागेको हो । स्थानीय बासिन्दाले शुरुमा रूखमा शव झुन्डिएको भन्दै आत्महत्याको आशंका गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार भोम्जनले बालकलाई पहिलेदेखि नै मार्ने वा आक्रमण गर्ने दाउ खोजिरहेकोजस्तो देखिन्छ । किनकि, भोम्जन सधैँ रक्सी खाएर हिँड्दा ती बालकले ‘ट्वाँके’ लगायत शब्दहरूले घृणा गर्ने गरेका थिए । उनले बयानमा सधैँ आफ्नो अपमान हुने गरी ती बालकले जिस्काउने गरेको उल्लेख गरेका छन् । 

पुस ९ गते हत्या गरिएका बालकको शव भोलिपल्ट बिहान झुन्डिएको अवस्थामा घरबाट ३ सय मिटर पर जंगलमा भेटिएको थियो । प्रहरीले घटना कसरी भयो भन्नेबारे विभिन्न विधिहरू प्रयोग गरी अनुसन्धान गरेको थियो । पोष्टमार्टम गर्ने डाक्टरलाई नै घटनास्थल पु¥याइएको थियो । घटनामा संलग्न भएको आशंकामा ७ जनालाई पक्राउ गरी भोम्जनको पहिचान भएपछि प्रहरीले कसरी हत्या गरियो भनेर ‘डेमो’ नै ग¥यो । काठको मुढालाई शव मानेर भोम्जनलाई नै प्रयोग गरी ‘डेमो’ गरेर घटनाबारे बिस्तृत अनुसन्धान गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्यामा संलग्न भोम्जनलाई अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्मकैदको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाएको छ । पहिलो चरणमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मकवानपुरका डिएसपी कार्कीले बताउनुभयो । 

टिप्पणीहरू