थप एक शव भेटियो,पोखराको मौसम खराब,सबै उडान ठप्प

थप एक शव भेटियो,पोखराको मौसम खराब,सबै उडान ठप्प

हिजो बिहान भएको यति एअरलाइन्सको एटीआर विमान दुर्घटनामा हराइरहेका चार वटा शवको खोजी थालिएको छ । हिजो साँझसम्म ६८ वटा मृत शरीर फेला पारिएकोमा आज थप एक शव भेटिएको छ । बाँकीको खोजी कार्य आज बिहान ६ बजेदेखि सेती नदीको खोंचमा शुरु भएको छ ।

उध्दारमा संलग्न सुरक्षाकर्मीहरुका अनुसार बाहिर उज्यालो भए पनि बिहानको समय सेतीको खोंचमा ८ बजेसम्म पनि अँध्यारो भएकाले उध्दारमा अप्ठेरोमा परेको हो । यता, हिजो फेला पारिएको शवको पूर्ण रुपमा पहिचान गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरिएको छ । छरपष्ट शवको टुक्रा पहिचान गर्ने सम्बन्धमा सरकारी अधिकारी र चिकित्सकहरुबीच छलफल भइरहेको छ ।

यसैबीच आज पनि पोखरा विमानस्थल बन्द गरिएको छ । खराब मौसमका कारण बिहानैदेखि विमानस्थल बन्द गरिएको हो । यति एअरलाइन्स र तारा एअरलाइन्सले भने आज शोक मनाउँदै सम्पूर्ण व्यावसायिक उडान बन्द गरेका छन् ।

टिप्पणीहरू