पोखराबाट शव ल्याउन खटिए दुई जना विशेषज्ञ,सेनाको हेलिकप्टर स्ट्याण्डबाइ

पोखराबाट शव ल्याउन खटिए दुई जना विशेषज्ञ,सेनाको हेलिकप्टर स्ट्याण्डबाइ

पोखरामा हिजो बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पहिचान हुन नसकेका शव काठमाडौँ ल्याउन चिकित्सकहरुको विशेषज्ञ टोली पोखरा पुगेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका दुई जना विशेषज्ञ डक्टर नेपाली सेनाको हेलिकप्टरबाट पोखरा गएका हुन् । शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल केही बेरअघि पोखरा पुगेको बताइएको छ । 

पहिचान हुन नसकेका शवहरु काठमाडौँ ल्याउन नेपाली सेनाको मध्य हवाई सुरक्षा बेसबाट एमआई १७ हेलि र स्काई ट्रक पोखरा लगिएको छ । विशेषज्ञ चिकित्सकले शव परीक्षण गरेपछि सोही हेलिकप्टरमा राखेर शवहरु काठमाडौँ ल्याइनेछ । 

सेनाले शवको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विशिष्ट व्यक्ति र मृतकका आफन्तलाई बस्ने ठाउँको प्रवन्ध पनि मिलाएको छ । विमानस्थल हाताभित्र रहेको काली दल गणले शवबारे जानकारी लिन आउनेहरुलाई बस्न दुई वटा टेन्ट र कुर्सी तयारी अवस्थामा राखेको छ ।

 जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ । जसमध्ये अहिलेसम्म ३५ शव पहिचान भैसकेको छ । पहिचान भएका पोखरा र सो आसपासका शवहरु त्यहीँ पोष्टमार्टम गरी मृतकका आफन्तलाई हस्तान्तरण गर्ने तयारी छ । विदेशी र काठमाडौँ घर भएकाहरुको शव भने परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिने छ ।

 

टिप्पणीहरू