अटोमा राखेर लागूऔषध ओसार्दै गर्दा पक्राउ

धनुषामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले लागूऔषध लिएर हिँडेका चार जनालाई पिडारी चोकबाट नियन्त्रणमा लिएको हो ।

पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा ४९३ बोतल एक्सप्लोन नामक लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

पक्राउ पर्नेमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही नगरका ज.११ प.४४४६ नम्बरको मोटरसाइकलमा सवार चालक २२ वर्षिय भरोसी यादव र २१ वर्षीय इसराइन नदाफ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, अन्य पक्राउ पर्नेमा ज.६ प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ का ३२ वर्षीय दीपककुमार पूर्वे पनि रहेको उनले बताए । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू