चरेश समात्ने बेला नेपाल चौकी रित्तै...

चरेश समात्ने बेला नेपाल चौकी रित्तै...

सुरक्षाको दृष्टिकोणले लुम्बिनी प्रदेशकै अति संवेदनशील मानिने कपिलवस्तुको कृष्णनगर नाकामा समय अगावै नेपाल प्रहरी निदाएपछि भारतीय एसएसबीले ठूलो परिमाणमा नेपालबाट जाँदै गरेको चरेश जफत गरेको छ । 

तत्कालिन गृहमन्त्री रवि लामिछानेको ठाडो आदेशमा गरिएको काज सरुवा लिएर बिहिबार कृष्णनगर आएका प्रहरी निरिक्षक नवराज ढुंगेलले यहाँको अवस्थालाई बेवास्ता गर्दा ठूलो उपलव्धि गुमेको छ । ईलाका प्रहरी कार्यालय अन्तर्गत दशगजामा जोडिएको लिंक गेट अगाडिबाटै भारतीय एसएसबीले एक जना व्यक्तिलाई २० किलो चरेशसहित पक्राउ गरेको छ । भारतीय एसएसबीले राती ९ बजे नेपालबाट भारत प्रवेश गर्दै गर्दा स्थानीय अव्दुर रसिदलाई समातेको हो । उनी भारतीय मोटरसाइकलको पछाडि चरेश लिएर नेपालबाट मूल गेट हुँदै प्रवेश गरेका थिए ।

उनले राती ९ बजे ईलाका प्रहरी कार्यालय चेकपोष्ट,सशस्त्र प्रहरी बल, कृष्णनगर भन्सार कार्यालय चेकपोष्ट र प्रहरीको यात्रुगेट चेकपोष्ट पार गरेर भारत प्रवेश गरेका थिए । नेपाल प्रहरी श्रोतका अनुसार भन्सार यार्ड चल्दासम्म नेपाल प्रहरी र सशस्त्रको चेकजाँच कडिकडाउ भएपनि त्यस अघिपछि भने खानपान र आराम गर्नतिरै ध्यान हुँदा चौकी रित्तै हुने र यस्ता विषयमा प्रहरी चुक्दै आएको छ । गत १ बर्षको अवधिमा नेपालबाट गएका ९ जना भन्दा बढि नेपाली चरेशसहित सीमा क्षेत्रमै पक्राउ परिसकेका छन् । 

उक्त चरेशबारे भारतीय एसएसबीलाई दिउँसै सुराकी आइसकेको थियो । भारतीय एसएसबी सहायक कमाण्डर पंकज साहले उक्त चरेश नेपालको चन्द्रौटाबाट लिएर आएको बताएका छन् । नेपाली सुरक्षाकर्मीप्रति सुराकीको विश्वास नहुनु, संवेदनशील क्षेत्रको संवेदनशीलता नबुझ्नु र इन्चार्ज आएको ३–४ दिनमै कामभन्दा दामतिर बढि ध्यान लागेपछि नतिजा शून्य आउने कृष्णनगरका स्थानीय बताउँछन् ।

टिप्पणीहरू