रविको गृह प्रवेश तत्कालका लागि बन्द,प्रधानमन्त्रीले फैसलाको पूर्णपाठ कुर्ने

रविको गृह प्रवेश तत्कालका लागि बन्द,प्रधानमन्त्रीले फैसलाको पूर्णपाठ कुर्ने

सर्वोच्च अदालतको फैसलापछि नयाँ नागरिकता बनाएर गृहमन्त्री बन्न जोडबल गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालै उक्त जिम्मेवारी नपाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने प्रष्ट पारेपछि लामिछानेको गृह प्रवेश तत्कालका लागि रोकिने भएको हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

शुक्रवार सर्वाेच्चको संवैधानिक इजलासले नागरिकता अवैधानिक रहेको ठहर गरेपछि लामिछाने पदमुक्त भएका छन् भने गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले राख्नुभएको छ । तर,आइतबार पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामिछानेलाई गृहमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता साझेदार दल एमालेले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएको छ । 

लामिछानेले अमेरिकी नागरिकता लिएपछि स्वत: खारेज भएको नेपाली नागरिकता प्रमाणपत्रबाट नेपाली राहदानी लिएको विषय विवादमा रहेकाले उनलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री इनिच्छुक रहेको चर्चा छ । 

पदाधिकारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई तत्काल कसैलाई गृहमन्त्री नबनाउन नेताहरुले सुझाव पनि दिएका छन् ।
 

टिप्पणीहरू