तीन दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौँ उत्रिएलगत्तै दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा साँझ पशुपतिनाथको दर्शन गर्न पुगेका छन् ।
साँझ ५ बजे पशुपतिनाथ मन्दिर पुगेको सात जनाको भारतीय टोली करिब आधा घण्टा मन्दिरको दर्शन गरेर भर्खरै बाहिरिएको बताइएको छ । पशुपति जानुअघि क्वात्राले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । त्यसअघि उनले परराष्ट्र सचिव, परराष्ट्रमन्त्री र भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने छन् । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।