नपठाएको निम्तो

नपठाएको निम्तो

नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिनुभएनछ । हामीले ठानेका थियौँ, उहाँ निम्तो दिनकै लागि नेपाल आउनुभएको हो । तर पछि थाहा भयो, उहाँ निम्तो नदिनका लागि नेपाल आउनुभएको रहेछ ।

हेर्नोस्, कस्तो रहेछ भारतको कूटनीति ! उनी निम्तो नदिनका लागि पनि प्रतिनिधि पठाउँदा रहेछन् । सामान्यतया प्रतिनिधि पठाउने भनेको निम्तो दिनका लागि हो । तर, यसपटक भारतले निम्तो नदिनका लागि प्रतिनिधि पठाएका छन् । प्रतिनिधि पठायो, निम्तो पठाएन । यदि निम्तो नै पठाउनु छैन भने प्रतिनिधि किन पठाएको ?

प्रतिनिधि आउनु तर निम्तोचाहिँ नआउनु, यसको के अर्थ लाग्छ होला राजनीतिमा ? कुनै अर्थ त लाग्छ होला । भारतले प्रतिनिधि पठाएर निम्तो पो नपठाएको हो, कुनै अर्थ त पक्कै पठाएको होला । के अर्थ पठायो होला ? भारतका विदेश सचिव श्री क्वात्रा बिना कुनै अर्थ जनयुद्ध दिवस मनाउन नेपाल आएको त पक्कै होइन होला । कि कसो ?
 

टिप्पणीहरू