राज्यको पैसा, पति पत्नीकै रमिता

राज्यको पैसा, पति पत्नीकै रमिता

बाबु आयोजक, छोरालाई अतिथि, ठगीमा मुछिएको र अनुसन्धान चलिरहेको कम्पनीलाई ३० लाखको ठेक्का र पत्नीलाई पनि आयोजककै खर्चमा दुबईतिर उडाएपछि ‘कन्ट्रोभर्सी किङ’ भुवन केसी फेरि अर्काे लफडामा मुछिएका छन् । अध्यक्षकै सिको गर्दै अन्य कलाकार र सिने पत्रकारले समेत आयोजककै पैसाले आ–आफ्ना श्रीमतीलाई दुबईतिर उडाएपछि गर्नेलाई भन्दा देख्नेलाई.... भनेजस्तो भएको कतिपय सिनेकर्मीले टिप्पणी गरेका छन् । 

आइतबारबाट दुबईमा शुरु भएर मंगलबारसम्म आयोजना भएको ‘नेपाल्स फिल्म फेस्ट’मा भुवन केसीदेखि अन्य कलाकर्मी र सिने पत्रकारले समेत आयोजककै पैसामा श्रीमतीलाई लगेको बताइन्छ । लालसलाम छाडेर रातारात जय नेपाल क्याम्पमा प्रवेश गरी चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका र गोपीकृष्णनगरस्थित चलचित्र विकास बोर्डको कुर्सीमा पुगेका सात महिनामा उनका दर्जनौँ विवादास्पद निर्णय छरपष्ट भइसकेका छन् । यस्तैमध्येको पछिल्लो कन्ट्रोभर्सी हो, दुबईमा जारी ‘नेपाल्स फिल्म फेस्ट’ । राज्यकोष तन्नम भएर सरकारी खर्च २० प्रतिशत कटौती गर्ने निर्णय भइरहँदा बोर्डले ३० लाख खर्चेर आयोजना गरिरहेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेशनलाई दिइएपछि त्यहाँ आक्रोशको आगो फैलियो । भुवन केसीलाई कमरेडबाट रातारात जय नेपाल बनाउन महत्वपूर्ण भूमिका खेलेका निर शाहलाई बोर्डको सल्लाहकार बनाइएको थियो । तर, भुवनका गलत निर्णयको विरोधमा अन्य सल्लाहकारहरू सुशान्त श्रेष्ठ, रवीन्द्र खड्कालगायतले राजीनामा दिएपछि भुवन एक्लो हुन पुगेका छन् । 

मानव तस्करीजस्तो गम्भीर अभियोगमा मुछिएको कम्पनीलाई ३० लाखको ठेक्का दिएर उनी शनिबार साँझ ३९ जनाको टोलीसहित दुबईतिर उडेका छन् । इभेन्ट र म्यानेजमेन्टको नाममा सूर्य कर्पोरेशनले गैर कलाकारहरूसँग पैसा लिएर आयोजक टिमको सदस्य बनाई विदेश लगेर छाड्ने धन्दा गर्दै आएको आरोप कलाकर्मीहरूले लगाउँदै आएका छन् । पुतलीसडकमा कार्यालय रहेको सोही संस्थालाई भुवनले दुबईमा कार्यक्रम गर्न भन्दै चलचित्र विकास बोर्डले ३० लाख रकम दिएको बुझिएको छ । अस्ति दुबई उडेको टोलीमा अध्यक्ष भुवन केसी, जिया केसी, अनमोल केसी छन् । सिने क्षेत्रकै भएका कारण भुवन र अनमोल दुबई उड्नुलाई स्वाभाविक मानिए पनि जियालाई सरकारी खर्च व्यहोर्नुको अर्थ भने खुलाइएको छैन । सञ्चारकर्मी प्रकाश सुवेदीले पनि पत्नीलाई यही मौकामा विदेश लगेका छन् भने विकास बोर्डका सदस्य अर्जुन कुमारले समेत यस्तो अवसर पाएका छन् । यस्तै निर्देशक प्रकाश भट्टराई, राज कटवाल र टंकबहादुर महतका अलावा बोर्डको अफिसर तहका कर्मचारी प्रभाकर भट्टराई, गिरी शर्मा, हरिसिंह रैथला र निर्मला चौलागाईं पनि टोलीमा छन् । फिल्म फेष्टिभल परिवार क्लबजस्तो बनेपछि सञ्चारका उपसचिव श्रीधर ज्ञवालीले भने सो कार्यक्रम बहिष्कार गरेका छन्् । 
 

टिप्पणीहरू