बिदामा बसेका कर्मचारी कुटिएपछि हाकिम रिसले आगो

बिदामा बसेका कर्मचारी कुटिएपछि हाकिम रिसले आगो

बिदामा बसेका आफ्ना कर्मचारीमाथि कुटपिट भएकोमा झापास्थित जीवन विकास लघुवित्तले आपत्ति जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाविरुद्ध झापाकै दुर्गा प्रसाईं ‘मार्सी’ ले लगातार आन्दोलन गरिरहेका बेला उक्त संस्थाका कर्मचारी बिदाको दिन मोरङमा कुटिएका हुन् । सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आफ्ना कर्मचारीमाथि कुटपिट गरेर उल्टै गर्भवती महिलामाथि हातपात गरेको झूठो आरोप लगाइएको बताए । 

अस्ति दिउँसो ३ बजे गौरीगञ्ज शाखामा कार्यरत फिल्ड कर्मचारी बिदाको दिन मोरङको धनपालस्थान गाउँपालिका–४ स्थित आफ्नो घर नजिकैको हाटबजार जाने क्रममा केही उच्छृंखल मानिसले कुटपिट गरेको बताइएको छ । तर, उल्टै गर्भवती महिलामाथि हातपात गरेको आरोपमा ती फिल्ड कर्मचारीलाई पक्राउ गरिएको उनको भनाइ छ । 

‘बिदामा रहेका कर्मचारीलाई मिथ्या आरोप लगाउने, मादक पदार्थ सेवन गरेका अराजक व्यक्तिहरुबाट कुटपिट गर्ने र उल्टै लाञ्छना लगाउने कार्य जो कोहीका लागि पनि असह्य एवम् निन्दनीय छ । यस्ता कार्यको वित्तीय संस्था घोर भत्र्सना गर्दछ,’ उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगत २० वर्षदेखि निरन्तर सामाजिक तथा आर्थिक सेवामार्फत ग्रामीण विपन्न महिलाहरुको जीवनस्तर सुधारको क्षेत्रमा लागि परेको संस्थाका कर्मचारीप्रति सुनियोजित आक्रमण गरिएको लघुवित्तको दाबी छ ।

टिप्पणीहरू