चौरी देउरालीमा पर्यटन विकास गरिने

चौरी देउरालीमा पर्यटन विकास गरिने

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका र ट्रेक्रिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच पर्यटन गुरु योजना निर्माण गर्दै पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोला र गाँउपालिका अध्यक्ष रेणुका चौलागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । टान र गाउँपालिकाको संयुक्त लगानीमा गाउँपालिका क्षेत्रमा म्यापिङ गर्नेलयायत काम गरिने छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये पूर्वमा चौरीखोला पारीको रामेछापको सुनपाती गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लू गाउँपालिका, उत्तरमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल गाउँपालिकाभित्रको ९९.५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको चौंरीदेउराली गाउँपालिकाभित्र २०६८ को जनगणनाअनुसार ४ हजार ६६४ घरपरिवारमा २० हजार ८२९ जनसंख्या छ ।

गाउँपालिकाको वडा नम्बर २ अन्तर्गत गगर्चे गाउँमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे चार वटा जिल्लाको सिमानाको संगमस्थल पर्छ । गाउँपालिकाभित्र साविकका नाग्रे गगर्चे, सानो बाङ्थली, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौंरी, गोठपानी, कात्तिके देउराली, मादन कुँडारी र बिर्ता देउरालीसहित ९ वटा तत्कालीन गाविस मिलाएर प्रत्येकलाई १ वडामा नघट्ने गरी कायम गरिएको छ ।

परापूर्वकालदेखि साविकको सबै गाउँबस्तीहरुलाई चौंरी थुमका आधारमा, पुकारिँदै आएको ऐतिहासिक तथ्य र चार वटा मुख्य देउरालीहरु समेत रहेको हुँदा चौंरी र देउराली जोडेर गाउँपालिकाको नाम चौंरीदेउराली राखिएको हो ।

पर्यटनको अथाह सम्भावना भएर पनि ओझेलमा परेको सो क्षेत्रमा पालिका र टानको सहकार्यले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा गरिएको छ । सम्झौतापछि पर्यटकीय गतिबिधि बढ्ने विश्वास लिइएको छ ।

टिप्पणीहरू