अदालतका श्रेस्तेदारविरुद्ध कानुन व्यवसायी, वकिलहरुको स्वार्थमा भाँजो हालिएको आरोप

अदालतका श्रेस्तेदारविरुद्ध कानुन व्यवसायी, वकिलहरुको स्वार्थमा भाँजो हालिएको आरोप

मुलुकमा बेलैमा न्याय पाउन निकै मुश्किल हुँदै गएको सर्वसाधारणको अनुभव छ । प्रणाली ठीक नभएकाले वर्षौं दिनसम्म अदालत धाउँदा पनि पीडित रित्तो हात फर्किन बाध्य छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतलेसमेत पीडितहरुलाई उत्तिकै सास्ती दिने गरेको गुनासो आउन थालेको छ । वर्षौं धाउँदा पनि न्याय पाउन नसकेको गुनासो गर्नेहरु अदालतमा प्रायः भेटिने गरेका छन् ।

मुद्दाको पेशी समयमै नतोकिँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् । बारम्बार एउटै काममा अदालत धाउनुपर्ने बाध्यता उनीहरुलाई छ । अदालत निकै सुस्त गतिमा चलेको गुनासो सेवाग्राहीहरुको छ । पीडित र पीडक छुट्याउन न्यायाधीशको अभाव नभए पनि कानुन व्यवसायीको असीमित मागका कारण यस्तो अवस्था सिर्जना भएको भुक्तभोगीहरु बताउँछन् ।

पीडितले न्यायका लागि गुहार्ने भनेकै अदालत हो । अदालतको ढोका ढक्ढक्याइपछि न्याय पाइन्छ भन्ने आश बोकेर त्यहाँ पुगेका पीडितलाई थप सास्ती दिने काम भइरहेको आरोप लागेको छ । अदालत न्यायको साटो दुःख दिने थलो बनेको भन्दै सेवाग्राहीहरुले बताउन थालेका छन् । 

कानुन व्यवसायीहरुले न्याय क्षेत्रलाई नै बदनाम बनाएको उनीहरुको आरोप छ । पीडित र पीडक आपसी समझदारीमा मिल्ने चाहना हुँदाहुँदै पनि दुईचार पैसाको प्रलोभनमा कानुन व्यवसायीले न्यायालयलाई नै गुमराहमा राख्ने गरेको बताइन्छ ।

मुद्दालाई अघि सार्दै सेवाग्राहीलाई छलछाम गर्न कानुन व्यवसायीहरु सफल भएको गुनासो सदरमुकाम धुलिखेलमा जताततै सुन्न थालिएको छ । पनौती नगरपालिका वडा नम्बर ४ का स्थानीय बुद्ध तामाङ्ग र गुणमाया तामाङ्गले सम्बन्धविच्छेद गरिपाऊँ भनेर २०७८ असार २२ गते मुद्दा दायर गरे । 

मुलुकी देवानी संहिता, २०७४ को दफा ९४ बमोजिम दायर भएको मुद्दामा अहिलेसम्म पनि छिनोफानो हुन सकेको छैन् । कानुन व्यवसायी दिपक जंगमले मुद्दामाथि मुद्दा थप्दै लगेका छन् । अहिले उनीहरु ‘घर न घाट’ को अवस्थामा पुगेका छन् । 

अदालतलाई देखाएर लाभ लिन खोजेका अधिवक्ता जंगमले पेशी लम्ब्याएको लम्ब्याएै गरेको उनीहरुको आरोप छ । अदालतले मेलमिलाप गर्न सक्ने सम्भावना रहेको मुद्दालाई समझदारीमा टुंगो लगाउन भनेको छ । तर, उनले बिथोल्ने काम गरिरहेको भनिएको छ । 

जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले तामाङ्गको मुद्दालाई मेलमिलाप माध्यमबाट मिलाउन आदेश दिएको छ । उनले मिलमिलापकर्ताका रुपमा श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेलाई तोकेका छन् । श्रेस्तेदार घिमिरेले हिजो दुवै पक्षलाई राखेर छलफल गरेका थिए । उनीहरु मिलापत्र गर्न पनि तयार भइसकेका थिए । 

सोही क्रममा श्रेस्तेदारको कार्यकक्षमा छिरेर अधिवक्ता जंगमले उक्त मुद्दामा मिलापत्र हुनसक्दैन भन्दै जंगिएका हुन् । श्रेस्तेदार घिमिरेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुई रुपैयाँका लागि अधिवक्ताहरुले नै मेलमिलाप हुन नदिने उल्लेख गरेका छन् ।

‘पक्षहरु मिल्न तयार हुन्छन् तर छद्मभेषीहरु दुई रुपैयाँको स्वार्थमा मेलमिलापकर्ताको आब्रो तोडछन् र मेलमिलाप हुन दिँदैनन्’, उनले अगाडि भनेका छन्, ‘आज त घाँटी नै न्याक्न आए एउटा महान् विद्वान । इजलाशले फलानोलाई मेलमिलापकर्ता भनेर तोकेको छ । पक्षहरु मञ्जुर छन् तर ।’ उनले पक्ष मिलेको खण्डमा व्यवधान खडा गर्नेको प्रमाणपत्र रद्द हुने कानुनी व्यवस्था गर्न पनि माग गरेका छन् ।

टिप्पणीहरू