कलाकारहरुको छुट्टीभिन्न र मायाँमोह अपरम्पार

कलाकारहरुको छुट्टीभिन्न र मायाँमोह अपरम्पार

अमेरिकाको हलिउड फिल्म इण्डष्ट्री भारतपछिको सबैभन्दा बढी सिनेमा बनाउने चलचित्र क्षेत्र हो । एलिजाबेथ टेलर त्यहाँकी महानायिका थिइन् । अमेरिकी चलचित्र इतिहासले उनलाई सातौं सर्वश्रेष्ठ हिरोइन मानेको छ । मर्लिन मुनरोपछिको सबैभन्दा सुन्दर नायिका हुन् उनी । सन् १९११ मा दिवंगत हुँदा ७९ वर्षकी थिइन् तर त्यो बेला पनि उनको बिहे र प्रणयको चर्चा शिखरमै थियो । जीवनमा ८ पटक ७ जना पुरुषसित बिहे गरिन् र अन्तिम समयमा पनि फोटोग्राफर फिरोज जहेदीसितको रोमान्सले सिने जगत तातेको थियो । विश्वभरिका पत्रपत्रिकाले उनी फिरोजलाई नवौं लोग्ने बनाउन लाग्दै छिन् भन्ने खबर छापेका थिए तर अन्तिममा त्यसमा सत्यता नभएको विज्ञप्ति जारी गर्न बाध्य भइन् । प्रशंसकहरू एलिजाबेथलाई लिज टेलरको नाउँले बोलाउन मन पराउँछन् । उनले बिहेबाहेक अरु दुई जना, अमेरिकी राजदूत विलियम पाउली र फुटबल खेलाडी ग्लेन डेविससँग बिहे गर्छु भनेर इन्गेजमेन्टसमेत गरिसकेकी थिइन् भने २ दर्जन पुरुषसित छोटो–मीठो सम्बन्ध गाँसेकी थिइन् । तीमध्येका दुई जना थिए– राष्ट्रपतिद्वय जोन एफ. केनेडी र रोनाल्ड रेगन । ब्रिटिश पत्रिका ‘मिरर’ का अनुसार दुबैको लिजसँग दैहिक सम्बन्ध थियो । तर, अत्यन्त रंगीन स्वभावकी र ‘भोको स्त्री’ उपनाम पाएकी लिजको अभिनेता रिचर्ड बर्टनसितको प्रणय भने बेग्लै र गाढा थियो, जसकारण उनीहरूले २ पटक बिहे नै गरे ।

वेल्स (छुट्टै मुलुक तर संयुक्त अधिराज्य ब्रिटेनको अंग) का सिने अभिनेता रिचर्ड बर्टनले लिजलाई पहिलोपटक सन् १९५३ मा देखेका थिए । कलाकरद्वय जिन सिमोन्स र स्टेवार्ट ग्राङरको घरमा एउटा सानो हलिउड पार्टी आयोजन गरिएको थियो । त्यहीं स्विमिङपुल पनि थियो । त्यहीँ बर्टनले एउटी युवतीलाई देखे । लिजले पनि पढिरहेको पुस्तक तल सारेर चश्मा फुकालिन् र बर्टनलाई हेरिन् । बर्टन मन्त्रमुग्ध बने । त्यो बेला उनीहरूबीच कुनै संवाद भएन । होटलको कोठामा पुगेपछि बर्टनले डायरीमा यस्तो लेखे– ‘उनी यति सुन्दर थिइन् कि म झण्डै ठूलो स्वरले हाँसेको । निःसन्देह उनको रूप भव्य थियो, अनुपम सुन्दरी थिइन् ।’

उता बर्टनले अनुपम सुन्दरी मानेकी २१ वर्षीया लिजलाई भने बर्टनको हेराइ अश्लिल लाग्यो । र, बेवास्ता गरिन् । ९ वर्षपछि सन् १९६२ मा निर्देशक जोसेफ मन्किविजले ऐतिहासिक पात्रको जीवनमा आधारित चलचित्र ‘क्लियोपेट्रा’ शुरु गरे । मुख्य भूमिका पाइन् लिजले । जब उनले आफ्नो अपोजिट पात्र अर्थात् प्रेमी मार्क एन्टोनीको भूमिका बर्टनले निभाउन गइरहेको थाहा पाइन्, दिक्क मानिन् । जनवरी २२ मा दुबै जना ऐतिहासिक पहिरन र पूर्ण मेकअपका साथ पहिलोपटक छायांकनमा भेट भयो । देख्नेबित्तिकै बर्टनले सोधे, ‘के तिमीलाई आजसम्म कसैले असाध्यै राम्री केटी हौ, भनेनन् ?’

लिजलाई यो सोधाइले कुनै अर्थ राखेन । उनी चुपचाप आफ्नै काममा ब्यस्त रहिन् । छायांकन सकेपछि केटी साथीहरूसँग ‘वेल्सबाट एक जना महान् कलाकार, अत्यन्त बौद्धिक र महान् प्रेमी आएका छन् है !’ भनेर हाँसो गरिन् । दोस्रो छायांकन मार्क एन्टोनी र क्लियोपेट्राबीच प्रेमालापको थियो । त्यो बेला भने बर्टनले आफूलाई धेरै माया गर्न थालेको महसुस गरिन् । लिजलाई सामुन्ने पाएर बर्टन नर्भस भए र संवाद नै बिर्से । आलिंगनको दृश्यमा बर्टनले अँगालो हाल्दा लिजले न्यानो माया महसुस गरिन् । ‘वेल्सको नौजवान’ भनी आफूले खिल्ली उडाएको बर्टनमा मायाको खानी भेट्टाइन् । जब लिजले ओठमा गहिरो म्वाइँ खाइन्, बर्टन पनि नशा लागेर मदमस्त भए । चुम्बनको दृश्य पटक–पटक रिटेक भयो, दुवैले अत्यन्त रुचिसाथ सट दिइरहे । यतिसम्म कि निर्देशकले कट भनिसक्दा पनि चुम्बन जारी रह्यो । निर्देशक जोसेफ मन्किविजले ‘यो छायांकन हो कि तिमीहरूको मनोरञ्जन ?’ भनेर गाली नै गर्नुप¥यो । छायांकन सकिएपछि लञ्च ब्रेक भयो । सबै जना खानातिर दौडे तर बर्टन कुर्सी तानेर लिजसँगै बस्न गए । यतिञ्जेलमै उनीहरू प्रेमी प्रेमिका बनिसकेका थिए ।

सन् १९६४ मा लिज ३२ र बर्टन ३९ का थिए । बर्टन २ छोरीको पिता थिए भने लिजले त यसअघि ४ पटक बिहे गरिसकेकी थिइन् । बर्टनले वेल्सकी चलचित्र अभिनेत्री सिबिल विलियम्ससँग सन् १९४९ मै बिहे गरेका थिए भने लिजले सन् १९५०, १९५२, १९५७ र १९५९ मा क्रमशः कोन्राड हिल्टन, मिचेल विल्डिङ, माइक तोड र एडी फिसरलाई दुलाहा बनाएकी थिइन् । यसको बाबजुद दुबैले सन् १९६४ को मार्च १५ मा बिहे गरे । लिजले जीवनमा ८ पटक ७ जनासँग बिहे गरे पनि औपचारिक तवरमा सम्बन्धविच्छेद भने मात्र एक जनासित गरेकी थिइन्, पहिलो लोग्ने कोन्राड । कोन्राड हिल्टन होटलका मालिकको पुत्र थिए । कोन्राड र लिजको दाम्पत्य जीवन मात्र ९ महिना चलेको थियो । लिज र बर्टन एकार्कासँग जति प्रेम गर्थे, त्यत्ति नै घृणा पनि । न लिज बर्टन अरु कोही स्त्रीसित लागेको मन पराउँथे न बर्टन लिजको अन्य कुनै पुरुषसितको सम्बन्धलाई । त्यसैले अक्सर उनीहरू एकछिन प्रेम गर्थे र लगत्तै झगडा पनि । दुबै अत्यन्त ईष्र्यालु र झगडालु स्वभावका थिए । सार्वजनिक समारोहमै एकअर्कोमाथि आरोप लगाउँदै गालीगलौज गर्थे । यसरी नै १० वर्ष चल्यो । 

एक दिन लिजको चौथो लोग्ने एडी फिसरसित बर्टनको फोनमा कुराकानी भयो । फिसर अमेरिकी गायक अनि अभिनेता । उनले फोनमा उठाएको सवालको जवाफ दिन बर्टन एक्लैलाई आफ्नै घरमा बोलाए । फिसरले सोधे, ‘तिमी मेरो घरमा के गर्दै छौ ?’ बर्टनले जवाफ दिए, ‘तिमीलाई म तिम्रो घरमा के गर्दै छु जस्तो लाग्छ ? साँच्चै भन्नुपर्दा म तिम्री पत्नीसित सम्भोग गर्छु ।’ बर्टनको कुरा सुनेर फिसर अनियन्त्रित बने । भोलिपल्ट राति लिजको घर पुगे । कसैको उपस्थितिमा लिजको निद्रा खुल्यो । उनले पेस्तोल ताकेर फिसर उभिरहेको पाइन् । हडबडाइन् तर फिसरले उनलाई भने, ‘चिन्ता नलेऊ, म तिमीलाई मार्दिनँ । तिमी निकै सुन्दर छ्यौ ।’

फिसर त्यहाँबाट सिधै नाइटक्लब पुगे । नर्तकीसित नाच्दै गीत गाए, ‘म क्लियो, नाइलको निम्फो हुँ ।’ स्मरणीय छ, असमान्य यौन चाहना भएकी क्लियो अर्थात् क्लियोपेट्रा इजिप्टकी महारानी हुन् र नाइल नदी इजिप्टबाट बग्ने सबैभन्दा ठूलो नदी हो । पछि फिसरले निद्रा लाग्ने औषधिको धेरै चक्की खाएर मर्ने प्रयास गरे । उता, बर्टनकी पत्नी सिबिल विलियम्सले पनि आत्महत्या गर्न खोजिन् । बर्टन घरमा होस् वा बाहिर जताततै झगडा गरी हिँड्थे । क्षणभरमै रिस काबुबाट बाहिर हुन्थ्यो । लिजका अनुसार उनी एउटा सानो एटम बम नै थिए । लोग्ने–स्वास्नीबीच झगडा हुँदा बर्टन लिजलाई ‘कुरुप आइमाई’ भनेर लाञ्छना लगाउँथे भने लिज उनलाई ‘कुकुरको छाउरा’ । बर्टन भन्थे, ‘म ऊसित झगडा गर्न मन पराउँछु, ऊ नग्न बसेको बेलाबाहेक ।’

पछि लिजको नशालु औषधि खाने लत र बर्टनको फ्रान्सिसी अभिनेत्री नताली डेलोनसितको अफेयरका कारण सन् १९७४ मा दुबै जना अलग्गिए । दुबैले आ–आफ्नो जीवन जिउन खोजे । नयाँ प्रेमी–प्रेमिकाको खोजीमा लागे । तर, जति झगडा, ईष्र्या र घृणा गरे पनि एकार्काबिना जिउनै सकेनन् । र, अलग्गिएको डेढ वर्षपछि सन् १९७५ मा पुनर्बिहे गरे । तर, पछिल्लो बिहे पनि मात्र १ वर्ष टिक्यो, दिनहुँ कलह हुन थालेपछि फेरि अलग्गिए । लिजसितको सम्बन्धबाट टाढिएपछि बर्टनले सन् १९७६ मा ब्रिटिश मोडल सुजी मिलर र सन् १९८३ मा सेली हयसँग बिहे गरे भने लिजले क्रमशः सन् १९७६ मा जोन वार्नर र सन् १९९१ मा लारी फोर्टेन्स्कीसँग बिहे गरिन् । जीवनको अन्तिम समयमा आफूभन्दा ३६ वर्ष कान्छो कालिन फैरेलसँग बसिन् । बर्टनको सन् १९८४ र लिजको सन् २०११ मा निधन भइसकेको छ । बर्टनले मर्नुअघि पत्नी सेलीलाई भनेका थिए, ‘एलिजाबेथको सौन्दर्य र प्रेमले आज पनि मलाई आकर्षित गर्छ ।’ उता, एलिजाबेथले बर्टनभन्दा एक पाइला अघि सर्दै भनेकी थिइन्, ‘बर्टन जिउँदो हुन्थे भने म अझै ऊसित तेस्रो बिहे गर्न तयार छु ।’

 

टिप्पणीहरू