जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा विद्यार्थी भर्नाको लफडा, चिरिबाबुले लगाए रोक
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले नयाँ शैक्षिक वर्षमा विद्यार्थी भर्ना गर्न सकेको छैन । ललितपुर महानगरपालिकाले स्कुलको विद्यार्थी भर्ना मापदण्डमाथि प्रश्न चिन्ह तेर्साउँदै रोक लगाएको बताइएको छ ।
नयाँ विद्यार्थी भर्नाको आवश्यक प्रक्रिया थाले पनि विद्यालयले गत चैत ९ गते अनिश्चितकालका लागि स्थगित गरिएको सूचना प्रकाशित गरेको थियो । विद्यालयले चैत २ र ३ गते कक्षा १ मा नयाँ भर्नाको आवेदनको सूचना जारी गरेको थियो ।
सूचनापछि झण्डै चार हजार जना विद्यार्थीले आवेदन दिएको र तीमध्ये तीन हजारभन्दा बढीसँग पहिलो चरणको अन्तर्वार्ता लिइसकेको बताइन्छ । तर यसबारे विद्यालय प्रशासनले कुनै पनि जानकारी दिन चाहेको देखिँदैन ।
विद्यालयले आफूखुशी भर्नाको मापदण्ड बनाएको महानगरपालिकाको आरोप छ । महानगरले संविधान र प्रचलित कानुनबमोजिम समावेशी कोटालाई मनन गरेर भर्ना प्रक्रिया तोक्न ललितपुर महानगरले निर्देशन दिएपछि विद्यालयले सबै भर्ना रोकिदिएको हो ।
बैशाखदेखि नयाँ शैक्षिक वर्ष शुरु भएको छ । यसअघि उक्त विद्यालयले कक्षा १ को भर्ना प्रक्रिया चैत तेस्रो साताभित्र सम्पन्न गरिसक्थ्यो ।
टिप्पणीहरू