मधेशका स्वतन्त्र सांसद उपेन्द्र यादवलाई भोट माग्न व्यस्त
बैशाख १० गतेको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ का उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई मधेश प्रदेशका स्वतन्त्र सांसद् प्रमोद जयसवालले सघाउने वचन दिएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका अध्यक्ष यादवलाई भोट माग्दै उनले छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै हिँडेका हुन् ।
अध्यक्ष यादवले मधेश आन्दोलनको नेतृत्व गर्दै मधेशका सवालहरु सम्बोधन गर्न र मुलुकमा संघीयता स्थापित गराउन उल्लेखनीय योगदान गरेकाले उनलाई जिताउनुपर्ने भन्दै पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा निर्वाचित जयसवालले बताएका छन् ।
उनले भने, ‘संघीय सदनमा उनको अपरिहार्य आवश्यकता छ ।’ मधेशका सवाल र संघीयता कार्यान्वयनका बाँकी कार्य सम्पन्न गर्न यादवलाई संघीय संसदमा पठाउनुपर्ने उनको भनाइ छ । जारी विज्ञप्तिमा उनले केन्द्रीय तहमा अभिभावकीय भूमिका खेल्न यादवको संघीय सदनमा अपरिहार्य आवश्यकता रहेको ठहर गरेका छन् ।
टिप्पणीहरू