सत्ता, षड्यन्त्र र स्त्री–पुरुष संघर्षको श्रृंखला

सत्ता, षड्यन्त्र र स्त्री–पुरुष संघर्षको श्रृंखला

चिल्पेरिक (प्रथम) बर्गन्डीका राजा । प्राचीनराज्य बर्गन्डी मध्यफ्रान्सभन्दा थोरै पूर्वमा थियो । सन् ५६१ मा राजा बनेका चिल्पेरिक राजा क्लोथार र रानी एरेगुन्डाका पुत्र हुन् । राजा बन्नेबित्तिकै फ्रान्सिसी शहर बर्नी र पेरिसमाथि कब्जा जमाए । तर, यक्ष मल्लपछिका नेपालका मल्ल राजाहरूले उपत्यकालाई बाँडीचुँडी चलाएजस्तै चिल्पेरिकले जितेका राज्य पनि विभाजित बन्यो, उनका दाइभाइले राज्यलाई खण्डित पारी शासन गर्न थाले । चिल्पेरिक लडाकू राजा थिए । उनको ध्यान प्रणय गर्नतर्फ कहिल्यै लागेन । तर, दाजु सिग्बर्डले स्पेनको एउटा अधिराज्य थेलेडोकी राजकुमारी ब्रुन्हिल्डासित बिहे गरेपछि उनमा पनि बिहेको रहर चल्यो । र, उनले पनि औडोभेरासँग धुमधामका साथ बिहे गरे । औडोभेरा ५ सन्तानको आमा बनिन् । चिल्पेरिकले दोस्रो बिहे आफ्नै भाउजू ब्रुन्हिल्डाकी दिदी गालस्विन्थासँग गरे ।

दोस्रो बिहेपछि चिल्पेरिक खुशी देखिन थाले । कारण थियो अकूत धनराशी दाइजोको रूपमा पाउनु । फ्रेडेगुन्ड प्रथम पत्नी औडोभेराको नोकर्नी थिइन् । दाइजोमा फ्रेडेगुन्ड दरबारमा प्रवेश गर्दा कलिलो उमेरकी थिइन् तर शरीर भने वयस्क बनिसकेको । चञ्चल स्वभावकी । स्वभावतः तुरुन्तै राजा चिल्पेरिकलाई यौवनपान गराउँदै आफूतिर आकर्षित गरिन् । उनी आफैँ रानी बन्न चाहन्थिन्, औडोभेराको सौता । राजा मन पराउँथे तर रानी बनाउन भने चाहँदैनथे । त्यसैले फ्रेडेगुन्डको अनेक जालझेल र प्रयासको बावजुद चिल्पेरिकले उनीसित होइन दोस्रो बिहे गालस्विन्थासँग गर्नुपर्‍यो ।

तर, यो सम्बन्ध एक वर्षभन्दा बढी टिकेन । एकदिन गालस्विन्थाले नोकर्नी फ्रेडेगुन्डलाई लोग्नेको शयनकक्षमा देखिन् । दुबै प्रेमालापमा ब्यस्त थिए । यसै कुरालाई लिएर राजारानीबीच झगडा भयो । झगडामा फ्रेडेगुन्डले आगोमा घ्यू थप्ने काम गरिन् । गालस्विन्थाले दाइजो फिर्ता दिने भए आफू माइत गएर बस्न राजी भएको बताइन् । तर, चिल्पेरिक त्यसो गर्न चाहन्नथे, न फ्रेडेगुन्ड नै राजालाई त्यसो गराउन चाहन्थिन् । कलह चरमोत्कर्षमा पुगेपछि गालस्विन्थालाई मार्गबाटै हटाउने उपाय फ्रेडेगुन्डले सुझाइन् । एकदिन गालस्विन्था मृतावस्थामा भेटिइन् त्यो पनि सबेरै, आफ्नै पलङमा । उनको मृत्यु घाँटी थिचेर भएको थियो ।
गालस्विन्था मारिएको ३ दिनपछि नै चिल्पेरिक र फ्रेडेगुन्डको बिहे भयो । अब उनले जेठी रानी औडोभेरासित सम्बन्धविच्छेद गर्न चिल्पेरिकमाथि दबाब दिइन् र आफू एकल रानी बनिन् । हत्या गरिएकी गालस्विन्था उत्तरीपूर्वी फ्रान्सेली राज्य अस्ट्रासियाकी रानी ब्रुन्हिल्डाकी दिदी थिइन् । नातामा ब्रुन्हिल्डा फ्रेडेगुन्डकी जेठानी । बु्रन्हिल्डा गालस्विन्थाको हत्या फ्रेडेगुन्डले नै गराएकोमा बिस्वस्त थिइन् । त्यसैले यसै कुरोमा जेठानी र देउरानीबीच ठूलै मनमुटाव चल्यो । झगडा रक्तपातको तहसम्म पुग्यो ।

शुरुमा दुई दाजुभाइ सिग्बर्ड र चिल्पेरिकले मध्यस्थता गर्न खोजे तर तनाव साम्य हुनुको साटो झन् चर्कियो । दाजुभाइ नै लड्न थाले । पछि सिग्बर्डले भाइ चिल्पेरिकसँग माफी माग्नुपर्‍यो, तर कुरो त्यतिमै सकिएन । युद्ध नै भयो । युद्ध चलिरहेकै समयमा फ्रेडेगुन्डले सिग्बर्डलाई विष ख्वाएर मारिन् भने ब्रुन्हिल्डा र उनका छोरालाई जेलमा कोचिन् । तर, जसोतसो ब्रुन्हिल्डा जेल तोडेर भाग्न सफल भइन् । उनी फ्रेडेगुन्डलाई जसरी भए पनि पराजित गरेर बदला लिन चाहन्थिन् तसर्थ आफू शक्तिशाली बन्न फ्रेडेगुन्डको सौतेनी छोरामध्येका मेरोभिकसित बिहे गरिन् । दोस्रो पतिसँग मिलेर पुनः सेनाको पुनर्गठन गरी सत्ता प्राप्त गरिन् । युद्धमा चिल्पेरिकले पहिला गुमाएको केही स्थान हासिल गरे ।

फ्रान्सिसी इतिहासको पिता कहलिएका ग्रेगोरीका अनुसार रानी फ्रेडेगुन्ड क्रूर स्वभावकी त थिइन् नै साथै लोग्नेप्रति पनि बफादार थिइनन् । पछि भतिज (सिग्बर्ड र ब्रुन्हिल्डाका छोरा) सित चक्कर चलाइन् । सन् ५८० मा पश्चिम युरोपमा झाडापखालाको महामारी फैलियो । राजा चिल्पेरिक र दुइटा छोरा परे । चिल्पेरिक र बचे तर छोराहरूलाई बचाउन सकेनन् । फ्रेडेगुन्डकी छोरी पनि थिइन् – रिगुन्थ । उनी छोरीसँग ईष्र्या गर्थिन् । रिगुन्थ सधैँ आफ्नी आमा दरबारमा श्रीमती भएर मात्र बस्नुपर्छ भन्ने मान्यता राख्थिन् । आमासँग झगडा गर्थिन् । अपशब्द प्रयोग गर्थिन् । कहिलेकाहीँ त कुटाकुटसमेत गर्थिन् । एकदिन फ्रेडेगुन्डले छोरी रिगुन्थलाई गरगहना भण्डारण गरिराखेको कक्षमा लिएर गइन् । सन्दुक खोलेर हीराजवाहरातको थुप्रो देखाइन् र भनिन्, ‘हामी (चिल्पेरिक र उनी) निकै उदार छौं, तिमीलाई मन परेको र मन पर्ने जति गरगहना लिन सक्छौँ ।’

रिगुन्थ जब गहना हेर्न निहुरिन् फ्रेडेगुन्डले छोरीको टाउको बेस्सरी थिच्दै सन्दुकको खापा लगाउन खोजिन्, ताकि रिगुन्थको घाँटी दबिएर श्वास फेर्न नसकी मरुन् । त्यहीबेला नोकरहरूले यो सब देखे र बचाए । पछि रिगुन्थलाई स्पेन पठाइयो, जहाँ उनको प्रेमी बस्थे । पछि उनलाई अकुत सम्पत्ति दाइजो दिएर राज्यको ढुकुटी रित्याएको भन्दै कुलिन घरानाका व्यक्तिले महारानीको ठूलो विरोध गरे । तर, महारानीले आफ्नै सम्पत्ति मात्र दिएको बताइन् । रिगुन्थ यात्राको क्रममा पटक–पटक लुटिइन् ।

उनी गन्तव्यमा पुग्नुअगावै सन् ५८४ मा चिल्पेरिकको मृत्यु भयो । २३ वर्ष शासन गरेका उनी ४५ वर्षका थिए । रिगुन्थसँगै यात्रा गरेका घरेलु नोकर न्युस्ट्रियन रिगुन्थ लुटिएको समाचार सुनाउन पेरिस फर्के । खबर सुनेर फ्रेडेगुन्ड यति धेरै रिसाइन् कि सार्वजनिक तवरमै बेइज्जत गरिन् । कुटपिट गर्न लगाइन् ।फलामे साङ्लोले बाँधेर जेलमा कोचिन् । चिल्पेरिकको मृत्युपछि नाबालिग पुत्र क्लोथार (द्वितीय) राजा बने र फ्रेडेगुन्डले राजमाता भएर शासन चलाइन् । उनको निधन सन् ५९७ मा पेरिसमा भयो ।

उनले देवर गुन्तरम र नोट्रेदामका पादरीलगायतलाई पनि मार्न खोजेकी थिइन् । उनी कूल ५ छोरा र एक छोरीको आमा भइन् ।क्लोथार (द्वितिय) को राज्यकालमा आफ्नी आमासंग करिब ४० वर्ष रिसराग र झगडा गरेकी अस्ट्रासियाकी रानी बु्रन्हिल्डा पक्राउ परिन् । एक जवान तर अशक्त घोडाको पुच्छरमा हात र कपाल बाँधेर सम्पूर्ण सेनाकोसामु तानेर लैजान आदेश दिइयो । घोडामा सवार मानिसले जानाजान् घोडालाई उत्तेजित पारे, नतिजा, घोडाले आफ्नो खुट्टालाई यति जोडले हान्यो कि ब्रुन्हिल्डाको टाउको नै उड्यो ।

टाउकोविहीन उनको शरीरलाई काँडायुक्त झाडी, पहाड र घाँटीबाट तान्न लगाइयो, ब्रुन्हिल्डाको हातखुट्टा टुक्रा–टुक्रा भयो। क्लोथार (द्वितीय) ले घिसारेर मार्न लगाउँदा ब्रुन्हिल्डा ६९ वर्षकी थिइन् । ३ सन्तानको आमा थिइन् । उनले छोरा चिल्डेबर्ट र नातिद्वय थिउडेबर्ट र थिउडेरिक त्यस्तै पनाति सिग्बर्ट (द्वितीय) को शासनकालमा राज्यसंरक्षक भएर शासन गरेकी थिइन् ।

टिप्पणीहरू