उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउन काँग्रेसले माग्यो सहयोग, नौ दललाई देउवाको पत्र
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख १० गते हुने उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको सहयोग खोज्नुभएको छ । गठबन्धनसम्बद्ध नौ दललाई पत्र लेखेर उहाँले काँग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभएको छ ।
सरकारको नेतृत्व गरिरहेको गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई पत्र लेखेर सभापति देउवाले उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।
उपनिर्वाचनमा सत्ता गठबन्धनको समर्थनमा तनहुँ–१ मा काँग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
‘गठबन्धन दलका यी उम्मेदवारलाई विजयी गराउन आ–आफ्नो दलका तर्फबाट पार्टी पंक्तिलाई अझ प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर यो अनुरोध पत्र पठाएको छु,’ देउवाले पत्रमा उल्लेख गर्नुभएको छ, ‘उपनिर्वाचनका गठबन्धनका उम्मेदवारहरु विजयी गराएर गठबन्धनलाई राष्ट्रियस्तरमा अझ कसिलो बनाएर अघि बढनुछ ।’
टिप्पणीहरू