दैनिक दुई लाख कमाउनेको यो फूर्ति

दैनिक दुई लाख कमाउनेको यो फूर्ति

रवि लामिछानेलाई चुनाव जिताउने भन्दै बेल्जियमबाट एक जना नेपाली हान्निएर नेपाल आए । भरतपुर पुग्नासाथ स्थानीयको भीडमा दिनको दुई लाख रुपैयाँ आम्दानी ‘हापेर’ आठ दिनको निम्ति चितवन आएको बताए । बेल्जियमको नागरिक भइसकेका ३८ वर्षे कृष्णप्रसाद रेग्मीले दोहाबाट काठमाडौं आउँदाको बोर्डिंग कार्ड र हरियो पासपोर्ट फेसबुक वालमा टाँसेर प्रचार गरेका थिए ।

बिजनेस क्लासको टिकट देखाइए पनि उनी बेल्जियमबाट इकोनोमी क्लासको टिकटमा उडेको र दोहाबाट काठमाडौं आउँदा पुरानो नेपाली राहदानी प्रयोग गरेको ब्रसेल्सका नेपालीहरुले बताएका हुन् । ब्रसेल्सबाट उड्ने क्रममा उनले अध्यागमनमा उतैको राहदानी देखाएका थिए । रेग्मी यसअघि बेल्जियमको डिस्ट्रिक्ट काउन्सिलमा त्यहाँको सबैभन्दा ठूलो पार्टी निउ भ्लाम्से एलिआन्टेको तर्फबाट उम्मेदवार थिए । बेल्जियमको नागरिक बनेपछि मात्रै त्यहाँ राजनीतिक अधिकार पाइन्छ, उम्मेदवार पनि सोही आधारमा बनेका थिए । तर, नेपाल आउँदा आफूलाई नेपाली देखाउन पुरानो नेपाली राहदानीको बाहिरी खोल देखाइएको सहजै अनुमान लगाउन सकिन्छ ।

विदेशी नागरिक बनिसकेका रेग्मी काठमाडौं विमानस्थलस्थित अध्यागमन डेस्कमा बेल्जियन नागरिकको हैसियतमा अप्रिल १९ को दिन प्रवेश गरेका हुन् । मे ३ तारिखका दिन फर्कने टिकट छ । कतिपय अवस्थामा दोहा हुँदै काठमाण्डौं आउँदा कतार एअरवेजले इकोनोमी क्लास लाई बिजनेसमा अपग्रेड गरिदिने प्रचलन छ । सोही अवस्थालाई रेग्मीले ‘क्यास’ गरेको अनुमान छ । रविको चुनावमा आउँदा आफूले बढी खर्च गरेको देखाउन अहिले नै नयाँ हत्कण्डा प्रयोग गर्नुलाई अर्थपूर्ण मान्नुपर्ने युरोपका गैरआवासीय नेपालीहरुको बुझाइ छ । जापान बस्ने डोलप्रसाद अर्यालले जस्तै भोलि चान्स मिले घण्टी पार्टीको ठूलो मान्छे बन्न यति धेरै लगानी गरेको थिएँ भन्ने देखाउन दैनिक दुई लाखको आम्दानी बन्द गर्दै बिजनेस क्लासमा यात्रा गरेको प्रमाण पोष्टाइएको रेग्मीलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

चुनावी भाषणको क्रममा स्वयम् रविले चितवनमा मासिक १ लाख अमेरिकी डलरको आम्दानी छाडेर नेपाल फर्केको धाक लगाएका थिए । त्यही शैलीमा रविलाई जिताउन रेग्मीले दैनिक २ लाख आम्दानी छाडेर आएको गफ हानेका हुन् । चितवन पुगेर घण्टीको प्रचार प्रसार गर्दै रेग्मीले भनेका थिए, ‘मेरो दैनिक आम्दानी नेपाली दुई लाख रुपैयाँ हो । कसैले मेरो स्टेटमेण्ट हेर्न चाहन्छ भने देखाउँछु । मैले आठ दिनलाई व्यवसाय बन्द गरेर आएको छु । पैसा ठूलो कुरो भएन ।’ दिनको दुई लाख आम्दानी गर्नेले आफू हिँड्नेबित्तिकै कमाई शून्य हुने भनेपछि उनको काममाथि शंका गर्न मिल्ने आधार मिलेको बताइन्छ । लामिछानेमाथि अमेरिकाको मेरिल्याण्डलगायत राज्यका अदालतमा बैंकको ऋण र क्रेडिट कार्डको रकम भुक्तानी नगरेको आरोपमा नौ वटा मुद्दा दायर भएको विवरणहरु यसअघि नै सार्वजनिक भइसकेका छन् । 

रेग्मीको भाषण सामाजिक सञ्जालमा सेयर गर्दै ओम शर्माले लेखेका छन्, ‘अमेरिकाबाट मासिक एक लाख डलरको आम्दानी छाडेर हिँडेकालाई जिताउन बेल्जियमबाट दिनको दुई लाख नेपाली (करिब १५००) युरोको कमाई छोडेर हिँडेछन् हाम्रा बहुरुपिया दोस्त, क्या दिन्छन् यार, अलि पच्ने खाले दिनु नि, हाजमोला नै खानुपर्ने भौ हैट !’

शर्माको स्टाटसमा प्रकाश अर्यालले कमेन्ट गर्दै रेग्मीको असली रुप उजागर गरिदिएका छन् । उनी लेख्छन्, ‘होइन, आफ्नो के कामले नेपाल जानुपर्ने थियो । बेल्जियममा काँग्रेसी भनी टोपल्थे क्या बात एक्कासी । रविलाई भोट हाल्न १६ लाख खर्च गरेर गएँ रे ! कतै रविसँग असुल्न बेर छैन । बेबकुफ बनाउने नि एउटा तरिका हुन्छ ।’ दोहोरो नागरिकता बोकेका रेग्मीलाई श्रीराम खतिवडाले व्यङ्ग्य गरेका छन्, ‘बेल्जियमको नागरिकता बोकेर नेपालमा मतदान ?? भन्दै गर्दा एनआरएनको एकपटकको नेपाली सँँधैको नेपाली भन्ने नारा खण्डित होला नि दाजै । विचार गरम ।’ सामाजिक सञ्जालमा फोटो र भिडियो हालेर बेतुकको गफ हाँकेका यस्ता आडम्बरीहरुको सूची बनाउने हो भने लामै बन्न सक्ने अर्काथरी गैरआवासीय नेपालीहरुले बताएका छन् ।

– पार्वती रानी मगर, अन्तरपेन
 

टिप्पणीहरू