उपप्रधान तथा गृहमन्त्री सहभोज र प्रशिक्षणमा व्यस्त
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज दिनभर सर्लाहीका कार्यक्रममा व्यस्त हुनुभएको छ । सोहीक्रममा वाग्मती नगरपालिकाको अगुवाइ र मधेश प्रदेश सरकारको समेत सहयोगमा लोपोन्मुख एवम् दलित पहरी समुदायका लागि निर्मित नमुना बस्ती सम्बन्धित परिवारलाई हस्तान्तरण गर्नुभएको बताइएको छ ।
नदी किनारमा अव्यवस्थित बसोबास गर्दै आएका १२ पहरी घर परिवारका ७० जनाका लागि वाग्मती–११ मा निर्मित १२ वटा एकतल्ले पक्की घर गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । लोपोन्मुख पहरी समुदायको परम्परागत पेशा माछापालन हो । कतिपयलाई भने हाल वाग्मती नगरपालिकाले क्षमता अनुसार रोजगारी समेत दिइएको छ ।
बस्ती हस्तान्तरणसँगै उहाँ पहरी समुदायसँग सहभोजमा सहभागी हुनुभएको थियो । भोजमा उपप्रधानमन्त्री श्रेष्ठले हरेक सीमान्तीकृत समुदायलाई सामाजिक न्यायको अनुभूति हुनेगरी गुणात्मक आर्थिक–सामाजिक विकास गर्नु वर्तमान सरकारको मुल प्राथमिकता रहेको उल्लेख गर्नुभयो । वाग्मती नगरपालिकाका मेयर भरत थापाले पहरी समुदायको व्यवस्थापन नगरपालिकाको प्राथमिक दायित्व भएको प्रतिबद्धता जनाएका छन् ।

आजै उपप्रधानमन्त्री श्रेष्ठले नेकपा माओवादी केन्द्रको पहलमा सहिद ईन्द्र कोइरालाको परिवारको निम्ति निर्मित आवास समेत हस्तान्तरण गर्नुभएको छ । वाग्मती–१२ मा निर्मित उक्त पक्की आवास १० वर्षे ऐतिहासिक जनयुद्धमा सर्लाहीबाट पहिलो सहिद कोइरालाकी श्रीमती लक्ष्मी कोइरालालाई औपचारिक हस्तान्तरण गरिएको हो ।
उहाँले लालबन्दीमा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा, मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्नुभएको छ । त्यसक्रममा उहाँले जातीय विभेद र उत्पीडन अन्त्यका लागि वर्तमान सरकार दलितका लागि थप विशेष अधिकार सुरक्षित गर्नुपर्ने पक्षमा रहेको जानकारी दिनुभएको थियो ।
‘समाजवादको आधार निर्माणका लागि सामाजिक न्यायसहित गुणात्मक आर्थिक समृद्धिमा अगाडि बढ्न हाम्रो पार्टीलाई समेत रुपान्तरण गर्नु जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘त्यसमा दलित मोर्चा र सबै साथीहरूको हस्तक्षेपकारी भूमिका हुनुपर्छ ।’ वर्तमान सकारले जनताले अनुभूत हुनेगरी कार्य प्राथमिकता तय गरेको उहाँको भनाइ छ । सर्लाही जिल्लामा समेत चरम शोषण र आतंकको रूपमा रहेको मीटरब्याज सम्बन्धी समस्यालाई कानुन र आयोग बनाएर समाधानको कार्यक्रम अगाडि बढेको गृहमन्त्रीले बताउनुभयो ।
रहस्यमय सडक दुर्घटनामा दिवंगत भएका नेता डाचाराज वाग्ले र कमल बुढाथोकीसहित आफूले सर्लाहीबाट नै मीटरब्याजबिरोधी अभियानलाई अगाडि बढाइएको स्मरण श्रेष्ठले गर्नुभएको छ । सम्मेलन उद्घाटन समारोहलाई माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल र मोर्चाका केन्द्रीय अध्यक्ष दलजीत श्रीपाइलीलगायत नेताहरूले सम्बोधन गरेका थिए ।
टिप्पणीहरू