विद्यालयको नामाकरणबारे बालेनको 'बोल्ड' निर्णय, नाममा इन्टरनेसनल जोड्न विदेशी विद्यार्थी अनिवार्य

विद्यालयको नामाकरणबारे बालेनको 'बोल्ड' निर्णय, नाममा इन्टरनेसनल जोड्न विदेशी विद्यार्थी अनिवार्य

काठमाडौंमा संचालित विद्यालयहरुले अब नेपालीपन झल्कने मौलिक नाम राख्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गर्दै यस्तो नियम बनाएको हो । 

कतिपय नीजि विद्यालयहरुले भद्दा अंग्रेजी नाम राखेर विद्यालयलाई नितान्त व्यापारिक सोचले संचालन गरेको जनगुनासो बढिरहेका बेला महानगरले नेपाली मौलिकता झल्किने नामलाई प्राथमिकता दिनेगरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० लाई संशोधन गरेको हो । 

महानगरका मेयर बालेन्द्र (बालेन) शाहले विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन नियमावली संशोधन गरिएको जानकारी दिए । नियमावलीको नियम ६९ मा विद्यालयको चिन्हबारे उल्लेख छ । जसमा विद्यालयको चिन्ह षट्कोणको हुनेछ भनिएको छ भने विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।
 
त्यस्तै, नियम ७० मा विद्यालयको नामाकरणसम्बन्धी व्यवस्था छ । त्यसको उपनियम (१) मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने भनिएको छ । 
 
त्यस्तै सोही नियमको उपनियम (२) लाई संशोधन गरी कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने बनाइएको छ । त्यस्तै, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । 

त्यसैगरी, विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्ने पनि उल्लेख छ । तर, यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने मेयर बालेन्द्रले बताएका छन्  ।

यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन उनले सबै विद्यालयहरुलाई आग्रह गरेका छन् । नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने मेयरको चेतावनी छ ।
 

टिप्पणीहरू