हेडसरलाई हेलिकप्टर चढाएर बिदाइ

हेडसरलाई हेलिकप्टर चढाएर बिदाइ

गोरखाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गरिएको सम्मानले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३८ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका शिक्षक ईन्द्र उपरकोटीलाई हेलिकप्टर चार्टर गरी बिदाइ गरिएपछि चौतर्फी चर्चा भएको हो ।  

सामान्यतया शिक्षकहरूलाई सेवापछि फूलमाला र गाजाबाजासहित बिदाइ गर्ने गरिन्छ । तर, धार्चे गाउँपालिका-२ रुञ्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३८ वर्ष पढाएका उपरकोटीलाई शिक्षक, विद्यार्थी र अभिभावकले पैसा उठाएर भव्य बिदाइसहित हेलिकप्टर चढाएर बिदा गरे  । 

बताइएअनुसार उपरकोटीले ०४५ फागुन १९ गतेदेखि उक्त विद्यालयमा अध्यापन शुरु गरेका थिए । त्यतिबेला प्राथमिक तहको मात्रै पठनपाठन हुने उक्त विद्यालय उपरकोटीकै नेतृत्वमा माध्यामिक बनाइएको स्थानीय बताउँछन् । 

उपरकोटी नेतृत्व क्षमता तथा विद्यार्थी र अभिभावकसँगको सामिप्यताले गाउँमा लोकप्रिय बनेका हुन् । उनको मृदुभाषी बोलि र सरल व्यवहारबाट स्थानीय सधैँ नतमस्तक बनेका थिए । 

उपरकोटीको बिदाइमा स्थानीय जनता भावुक त बने नै, उनको लागि हेलिकोप्टरसमेत बुक गरिएको थियो । विद्यालयका विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र अभिभावकले उपरकोटीलाई विभिन्न कोशेलीसहित हेलिकोप्टरमा चढाएर काठमाडौँ पठाएका थिए । 

चितवन घर भएका उपरकोटीको लागि स्थानीयले काठमाडौँदेखि भरतपुरसम्मको हवाइ टिकटसमेत काटिदिएका थिए । यसप्रकारको सम्मानपछि कार्यक्रममा शिक्षक उपरकोटी पनि भावुक बने । 

‘मैले कहिल्यै यो सम्मान पाउछु भनेर काम गरेको थिइनँ, आफ्नो कर्तव्य पुरा गरेको थिएँ’, जाँदाजाँदै भने, ‘मलाई गाउँलेहरुले यति माया गर्नु हुँदोरहेछ, आज थाहा पाएँ, यो सम्मान म सधैँ सम्हालेर राख्नेछु ।’

टिप्पणीहरू