सिंहदरबारमा जेनजी र सरकारबीच सम्झौता

सिंहदरबारमा जेनजी र सरकारबीच सम्झौता

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई संस्थागत मान्यता दिन सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले हस्ताक्षर कार्यक्रम चलिरहेको छ । साँझ साढे ७ बजेदेखि शुरु भएको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थिति छ । 

गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सरकारको तर्फबाट कार्यक्रममा सहभागी छन् । मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल्सिना पनि कार्यक्रममा बसेका छन्।  . 

जेनजीको तर्फबाट सुधन गुरुङ, रक्षा बम, साङ्केन राई, जनक नेपाली, अपेक्षा तुलाधर, प्रदीप पाण्डे, राजेन्द्र अधिकारी, मोनिका न्यौपाने, आशिष राई, जीवन कार्की, पेमा वाङ्बो लामा, अनुपा खनालले प्रतिनिधित्व गर्दा नागरिक अगुवा विद्याधर मल्लिक, सूर्य ढुंगेल, राजु हुमागाई, खगेन्द्र संग्रौला लगायत पनि त्यहाँ रहेको बताइएको छ । 

डेढ महिनाको कसरतपछि सम्झौतामा हस्ताक्षर गर्न दुवै पक्ष राजी भएका हुन् । जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनेदेखि आन्दोलनका क्रममा भएको बल प्रयोगको निष्पक्ष छानवीन, संविधान संशोधनका लागि आयोग गठन, भ्रष्टाचार नियन्त्रणलगायतका विषय सम्झौतामा समेटिएका छन् ।

टिप्पणीहरू